काभ्रे । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई नियमितता दिँदै गाउँपालिकाको कार्यक्रमअन्तर्गत कफीको बिरुवा वितरण गरिएको हो ।
गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको ‘फिल्ड अनुगमन’ अनुसार ६ हजार ८०० मात्र खाडल खनेको पाइएपछि सोहीअनुसार वितरण गरिएको जनाइएको छ । वडाभित्र करिब १३ हजार कफीको बिरुवा माग भएको थियो । किसानको आकर्षण भए पनि मागअनुसार बिरुवा वितरण गर्न नसकिएको वडाध्यक्ष रमेश लुङ्गेलीको भनाइ छ ।
काभ्रेपलान्चोकको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित दुर्गम गाउँपालिका महाभारतमा गर्दै आएको व्यावसायिक कफी उत्पादनलाई आधुनिक मैत्री बनाउन थालिएको हो । यसका लागि गाउँपालिकाले कफी–किसानलाई बर्सेनि बिरुवासँगै आधुनिक कृषि सामग्रीसमेत वितरण गरेको छ । किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै थप सहज र उत्पादन वृद्धि गरी कफीबाटै आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक किसानलाई सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार केही वर्षदेखि स्थानीय किसानका आयआर्जनको माध्यम कफी खेती बन्न थालेपछि गाउँपालिकाले किसानलाई बर्सेनि अनुदानमा कफीको बिरुवा वितरण गर्दै आएको छ । गाउँपालिकाका अनुसार हाल एक हजार ४३३ रोपनी जमिनमा कफी खेती भइरहेको छ । गाउँपालिकामा व्यावसायिक कफी उत्पादन गर्ने किसान एक हजार २०० को हाराहारीमा रहेको बताइएको छ ।

