शुक्रबार, साउन १५, २०८३

पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौँ । विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएको छ ।

पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम हिमशृंखलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रड पिकमा बिहीबार दिउँसो हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपालीसहित विभिन्न देशका आरोही सहभागी रहेको जनाइएको छ।

टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए।

अल्पाइन क्लब अफ पाकिस्तानका उपाध्यक्ष करार हैदरीका अनुसार मौसम अनुकूल रहेमा शुक्रबार बिहान हेलिकोप्टरमार्फत उद्धार अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ।ब्रड पिक विश्वको १२औँ अग्लो हिमाल हो। यसलाई पर्वतारोहणका लागि सबैभन्दा चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ।

अल्पाइन क्लब अफ पाकिस्तानले उपलब्ध सबै स्रोत–साधन परिचालन गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। क्लबले सबै आरोहीको सुरक्षित उद्धारको कामना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

निर्मल पुर्जा सन् २००३ मा बेलायती सेनामा आबद्ध भएका थिए भने सन् २००९ मा रोयल मरिनमा सामेल भएका थिए। उनले सन् २०१२ मा सगरमाथा आधार शिविर पुगेपछि पर्वतारोहण यात्रा सुरु गरेका थिए।

यसमा तपाईको प्रतिक्रिया