आइतबार, बैशाख २७, २०८३

जापानको भिसा शुल्कमा भारी वृद्धि हुने: नयाँ खाका सार्वजनिक

टोकियो । जापानको भिसा शुल्कमा भारी वृद्धिको नयाँ खाका सार्वजनिक भएको छ । जापानको अध्यागमन विभागले आवासीय अनुमति (भिसा) प्रक्रियाका लागि लाग्ने शुल्कमा भारी वृद्धिको नयाँ खाका सार्वजनिक गरेको हो ।
इमिगेशनको भीसा शुल्कमा शुक्रबार जापानको तल्लो सदनको न्याय समितिमा अध्यागमन अधिकारीहरूले प्रस्तावित शुल्कको नयाँ दरहरू प्रस्तुत गरेका हुन्। नयाँ प्रस्ताव अनुसार अब १ वर्षको भिसा नवीकरण वा परिवर्तनका लागि करिब ३० हजार येन र ३ वर्षको अवधिका लागि करिब ६० हजार येन शुल्क लाग्ने प्रस्ताव गरिएको छ। यसअघि नै विभागले ३ महिनाभन्दा कम अवधिका लागि १० हजार येन, ५ वर्षका लागि ७० हजार येन र स्थायी बसोबास (PR) का लागि २ लाख येन शुल्क पुर्याउने संकेत दिइसकेको छ।

हालको व्यवस्था अनुसार भिसा परिवर्तन वा नवीकरणका लागि ६ हजार येन र स्थायी बसोबासका लागि १० हजार येन मात्र शुल्क लाग्ने गर्दछ। यो प्रस्तावित विधेयक पारित भएमा सन् २०२६ देखि नै नयाँ शुल्क दरहरू लागू हुनेछन्।
पछिल्लो समय आप्रवासी नीति बारे जापानको इमिगेशनको यस्तो निर्णयले नेपाली लगायत अन्य देशको आप्रवासीहरूलाई आर्थिक भार पर्ने देखिएको छ।