शुक्रबार, फागुन २९, २०८२

बौद्धनाथ क्षेत्र विकास समितिले ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गर्दै

काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले राष्ट्रिय ल्होछार शुभकामना आदान प्रदान तथा भव्य साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

समितिले हिमालयन महायानी बौद्ध धर्मवलम्वीहरुको नयाँवर्ष (ता- घोडा) ल्होछार तथा भगवान बुद्धको महान तिथि छयोठुल धुईछेन(ऋषि प्रतिहार्य दिवस) को उपलक्ष्यमा भोली फागुन ५ गते मंगलबार परम पूज्य लोसाङ नाम्ग्याल रिन्पोछेको प्रमुख आतिथ्यतामा राष्ट्रिय ल्होछार शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

काठमाडौँ महानगरपालिका – ६ बौद्ध टाउन प्लानिङ स्थित फुटबल मैदानमा हुने उक्त कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुने समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिए । कार्यक्रमअन्तर्गत बिहान ८ बजेदेखि ९ बजेसम्म साङ सेरगेम, धर्मपाल तथा स्थानीय देवी देउताको पूजा तथा सम्पूर्ण जगत प्राणीको कल्याणार्थ विशेष पूजा गरिनेछ ।

त्यसैगरी, बिहान ९ बजेदेखि सम्पूर्ण विघ्न बाधा, रोग व्याधि, ग्रह शान्ति तथा अवरोध निवारणका लागि चार सय घ्याप्सी पूजा, छोग पूजा लगायतका धार्मिक अनुष्ठान सञ्चालन गरिने आयोजकले जनाएको छ । दिउँसो १ः३० बजेदेखि राष्ट्रिय ल्होसार शुभकामना आदान–प्रदानसहित औपचारिक कार्यक्रम हुनेछ भने दिउँसो ४ बजेदेखि ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।

कार्यक्रमकाे उदेश्य साँस्कृतिक एकता र परम्पराको संरक्षणसँग जोड्नु रहेको छ । कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सम्पूर्ण समुदायलाई सहभागिताका लागि आयोजकले आग्रह गरेको छ ।यसैगरी, कार्यक्रममा ताम्बा संघ नेपाल,हिमालयन सांस्कृतिक केन्द, ह्याला रिमठिम तामाङ डम्फु संघ,नेपाल ह्योल्मो समाज सेवा संघ र झरणा कला केन्द्रले आ -आफनो प्रस्तुती दिनेेेछन् ।