मङ्गलबार, साउन १९, २०८३

एमाले रामेछापको चुनावी तयारी: प्रचारदेखि घरदैलो अभियान तीव्र

रामेछाप । नेकपा एमाले रामेछापले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तयारीलाई तीव्र बनाएको छ । पार्टीले जिल्लाबाट आफ्ना उम्मेदवारलाई विजयी गराउने उद्देश्यले मतदाता भेटघाट, घरदैलो अभियान, विस्तारित बैठक लगायत कार्यक्रमहरूलाई सशक्त रूपमा अघि बढाएको हो ।
दुई नगरपालिका र छ वटा गाउँपालिका गरी ६४ वटा वडा रहेको रामेछाप जिल्लामा एमालेले निर्वाचन तयारीका क्रममा शनिवार मन्थलीमा पार्टीको विस्तारित बैठक सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले निर्वाचन परिचालन, प्रचार–प्रसार तथा व्यवस्थापनसम्बन्धी विभिन्न कमिटी गठन गर्ने निर्णय गरेको छ ।

निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप सक्रिय बनाउने उद्देश्यले प्रचार, परिचालन र प्रशासनिक जिम्मेवारीसहितका कमिटीहरू गठन गरिएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिनुभयो । अहिले एमाले उम्मेदवारलाई जिताउने जिम्मेवारी हरेक नेता–कार्यकर्ताको काँधमा आएको उल्लेख गर्दै उहाँले त्यो जिम्मेवारी बोक्ने काँध अझै बलियो बनाएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले यस वर्ष रामेछापमा एमालेको विजय सुनिश्चित हुने दाबी गर्दै प्रचार डेस्कमार्फत प्रचार अभियानलाई थप प्रभावकारी रूपमा सञ्चालन गरिएको बताउनुभयो ।

बैठकमा बोल्दै उम्मेदवार ढुङ्गेलले राजनीतिक स्थायित्व, शान्ति र विकास आज देशको प्रमुख एजेन्डा भएको उल्लेख गर्नुभयो । ती एजेन्डा बोक्ने पार्टी नेकपा एमाले भएको दाबी गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको स्मरण गराउनुभयो । केन्द्रीय सदस्य गीता कार्कीले पार्टी उम्मेदवारलाई जिताउनु नै अहिलेको एक मात्र प्रमुख एजेन्डा भएको बताउँदै त्यसका लागि सिङ्गो पार्टी एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले एमाले उम्मेदवारप्रति मतदाताहरू उत्साहित देखिएको बताउँदै त्यसलाई पार्टीले प्रभावकारी रूपमा क्यास गर्नुपर्ने धारणा राख्नुभयो । मतदाताले प्रत्यक्ष उम्मेदवारसँग भेटघाट गर्न चाहने भएकाले त्यसअनुसार समय व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड थियो ।

बैठकको समापन गर्दै जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाले निर्वाचनमा सबै कमिटीहरू योजनाअनुसार अनुशासित रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।