मङ्गलबार, साउन १९, २०८३

घण्टी बजाएर देश बन्दैन, कामले विकास हुन्छ: हर्क साम्पाङ

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश विकासका गम्भीर विषयहरू केवल नारा मात्रै बनाएर सम्भव नहुने बताउनुभएको छ। उहाँले आर्थिक उन्नति, शैक्षिक क्रान्ति, सांस्कृतिक उन्नयन र राष्ट्रियता सुदृढीकरणजस्ता विषयलाई ‘घण्टी बजाएर’ सम्भव हुन्छ भन्ने सोचप्रति व्यङ्ग्य गर्दै प्रश्न उठाउनुभएको छ ।

सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै अध्यक्ष साम्पाङले लेख्नुभएको छ, ‘एउटा पार्टीको भिजन: आर्थिक उन्नति कसरी गर्ने ? घण्टी बजाएर ! देशको शैक्षिक क्रान्ति कसरी हुन्छ ? घण्टी बजाएर ! सांस्कृतिक उन्नयन कसरी गर्ने ? घण्टी बजाएर ! राष्ट्रियता कसरी सुदृढ गर्ने ? घण्टी बजाएर !’

राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका उम्मेदवारहरू घण्टी बजाउँदै हिँडेपछि उहाँको यो प्रतिक्रिया आएको हो । सो पार्टीका नेताहरू पार्टीको चुनाव चिन्ह घण्टी बजाउँदै चुनावी अभियानमा हिँडेका छन् ।
अध्यक्ष साम्पाङले विकास र परिवर्तनको मार्ग सजिलो नहुने र केवल प्रतीक, प्रचार वा लोकप्रिय नाराले मात्र देश अघि नबढ्ने सन्देश दिनु भएको छ ।

उहाँले यसमार्फत आर्थिक समृद्धि हासिल गर्न उत्पादन, श्रम र नीति आवश्यक हुने, शिक्षा सुधारका लागि संरचनागत परिवर्तन चाहिने, संस्कृति संरक्षणका लागि दीर्घकालीन दृष्टि चाहिने तथा राष्ट्रियता बलियो बनाउन व्यवहारिक कार्ययोजना आवश्यक हुने धारणा सङ्केत गर्नुभएको छ।

राजनीतिक वृत्तमा अध्यक्ष साम्पाङको यो टिप्पणीलाई ‘काम बिना नाराले केही हुँदैन’ भन्ने चेतावनीका रूपमा लिइएको छ। श्रम संस्कृति पार्टीले पछिल्लो समय श्रम, उत्पादन र व्यवहारिक अभियानलाई केन्द्रमा राख्दै आएको सन्दर्भमा उहाँको यस्तो व्यङ्ग्यात्मक अभिव्यक्तिले रास्वपासँगकाे राजनीतिक बहसलाई थप रोचक बनाउने देखिएको छ।