काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा क्षेत्र नम्बर –५ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जितका लागि कुनै समस्या नरहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले झापा ५ मा एमालेलाई कुनै जोखिम नभएको बताएका हुन् ।
उनले झापा–५ मा बालेन पक्षधरका मिडियाले मात्र हल्लाखल्ला गरेको बताए । उनले भने, ‘त्यो ठाउँका जनता पपुलिज्म र एनार्किजमको प्रभावमा परी परिणामलाई नै तलमाथि पार्छन् भन्ने पार्टीको मान्यता छैन । होला सोसल मिडियामा हुने हल्लाखल्ला एक प्रकारको प्रभाव त पारेको छ । तर मतदाताका बीचको कुराकानी गर्नुहुन्छ भने हामी झापा ५ मा पनि सुरक्षित अवस्थामा छौं। त्यहाँ कुनै प्रकारको चाहिँ जोखिमको अवस्था छैन भन्ने पार्टीको विश्लेषण रहेको छ ।’
उनले एमालेले फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए । महासचिव पोखरेलले आगामी निर्वाचनमा नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी शक्ति रहेको बताए ।
उनले भने, ‘रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा बढेको देखिन्छ । तर, त्यो प्रभाव चुनाव जित्ने तहसम्मको होइन भन्ने छ । त्यसैले एमालेसँग कांग्रेस नै प्रतिस्पर्धामा छ ।’ झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन साह अध्यक्ष ओलीसँग प्रतिस्पर्धामा छन् ।

