काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ३ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ। वैकल्पिक शक्ति तथा नयाँ राजनीतिक दलका पपुलर उम्मेदवार यो क्षेत्रमा प्रत्याशी छन् ।
उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङ, नेपाली कांग्रेसका तर्फबाट रमेश अर्याल, नेकपा (एमाले) का तर्फबाट रामेश्वर फुयाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजु पाण्डे र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट निरज लामा चुनावी मैदानमा छन्। यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डा. सुन्दर सिंह बोहरा पनि चुनावी मैदानमा उत्रिएका छन् ।
राप्रपाका प्रवक्ता समेत रहेका बाेहराले केही वर्षयता राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । विभिन्न सामाजिक अभियान, नेतृत्व विकासका कार्यक्रम र बौद्धिक बहसमा संलग्न रहँदै आएका डाक्टर बोहराले नेतृत्व विकास विषयमा विद्यावारिधी (पीएचडी) हासिल गरेका छन् ।
पछिल्ला दिनमा उनले चुनावी माहाेल बढाउन घरदैलो अभियान सुरूगरेका छन् । सबै मतदाताहरू गुनासाे,समस्याहरू सुन्दै आगामी दिनमा ती समस्याहरूकाे समाधान आफुले गर्ने वाचा मतादाताहरूलाई दिदै आएका छन् । अधिकांश जेन्जि पुस्ता र ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूले राजतन्त्र सहितकाे प्रजातन्त्र चाहेकाे डा.बाेहरा बताउँछन् ।
काठमाडौँ–३ का मतदाताले परिवर्तन, स्थायित्व र मूल्य–मान्यतामा आधारित राजनीति चाहेको भन्दै त्यसको प्रतिनिधित्व आफूले गर्ने डाक्टर बाेहराकाे दाबी छ ।


