काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा दुई दर्जनभन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् ।
उनेपाका अनुसार पार्टी प्रवेश गर्नेहरूमा बौद्ध तीनचुली निवासी, नेपाली कांग्रेसमा विगत करिब ३० वर्षदेखि सक्रिय रहँदै आएका पूर्व पर्यटन विभाग केन्द्रीय सदस्य इन्द्र लामा, कागेश्वरी मनहरा-१ का बागवीर लामासहित कांग्रेसका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता रहेका छन् ।
प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै इन्द्र लामाले अब देशको नेतृत्व गर्न सक्ने स्पष्ट र सक्षम नेतृत्व कुलमान घिसिङ र उज्यालो नेपाल पार्टी सँग मात्र रहेको बताए ।
कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले लामो समयदेखि स्थापित पार्टी परित्याग गरी उज्यालो नेपाल पार्टीप्रति विश्वास व्यक्त गरेकोमा धन्यवाद व्यक्त गरे ।
उनले अब देशको नेतृत्व गर्ने स्पष्ट उद्देश्यसहित उज्यालो नेपाल पार्टी स्थापना गरिएको उल्लेख गर्दै जनताको भरोसा र विश्वासले आफूहरू थप अनुभवी र जिम्मेवार बन्दै गएको बताए ।
घिसिङले आगामी दिनमा अझ धेरै नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा जोडिने विश्वास व्यक्त गर्दै देशलाई उज्यालो बनाउने अभियानमा सबैलाई एकताबद्ध हुन आह्वान गरे ।

