मङ्गलबार, साउन १९, २०८३

‘अहिलेको नयाँहरूले लेखेछन्,ओली महत्त्वपूर्ण हुनुहुन्छ,त्यसकारण उहाँलाई मोटोमुनि गाडिदिनुपर्छ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक दलको कुनै गन्तव्य नभएको बताएका छन् ।

शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ आएका राजनीतिक दलसँग कुनै गन्तव्य नभएको बताएका हुन् ।

उनले उनले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहलाई लक्षित गर्दै कहाँ जान हिँडेको नै थाहा नभएको बताए। उनले भने, ‘भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन थाहा छैन।’ उनले नयाँ भन्नेहरूले आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘अहिलेको नयाँहरूले लेखेछन्, केपी ओली महत्त्वपूर्ण हुनुहुन्छ, त्यसकारण उहाँलाई मोटोमुनि गाडिदिनुपर्छ । कस्तो मति, कस्तो बुद्धि, कस्तो राजनीति, हामी विचार गर्न सक्छौं ।’

अहिले देश बनाउने र जलाउनेबीचको लडाईं जारी रहेको ओलीको भनाइ छ । उनले मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन पनि आउँदो निर्वाचनमा एमाले विजयी हुनुपर्ने बताए । अध्यक्ष ओलीले नेपाली समाजलाई सभ्य र सुसंस्कृतिको बाटोमा फर्काउन पनि आसन्न निर्वाचनपछि एमालेले सरकार बनाउनुपर्ने बताए ।