मङ्गलबार, साउन १९, २०८३

रामेछापमा चुनावी सरगर्मी बढ्यो, ढुंगेलको सम्भावना बलियो

मन्थली । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रामेछापमा चुनावी सरगर्मी बढेको छ ।
मनोनयन दर्ता गरे संगै चुनावी रस्सारस्सी चलेको हो । गाउँघर, चिया पसल देखी सामाजिक संजालमा १७ जनाले उम्मेदवारी दर्ता गराएका मध्येका जित्ने सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ ।
निर्वाचन अधिकृतको कार्यालय रामेछापमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी कुल १७ जना उम्मेदवारले उम्मेदवारी दर्तासँगै जिल्लामा सबै राजनीतिक दलको सक्रियता र उत्साह देखिन थालेको छ ।
जिल्लामा मुख्य राजनीतिक दलहरू एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी,नेशनल रिपब्लिक पार्टी, उज्यालो नेपाल पार्टी र स्वतन्त्र उम्मेदवारहरू विजयीको लागि मैदानमा छन् ।
रामेछाप संघीय राजधानीबाट नजीक भौगोलिक रूपले विकट भएकोले यहाँ संगठन र ब्यक्ति प्रभावले जीत र हारको अनुमान गर्न सकिन्छ ।

ढुङ्गेलको सम्भावना बलियो

नेकपा एमालेका केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेलले टिकट हात पारेर उम्मेदवारी दिएका छन् । रामेछापको भूगोल देखी केन्द्र सम्म पहुँच बनाएका ढुङ्गेल अनेरास्ववियुको इकाई, जिल्ला हुँदै पूर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय युवा परिषद् नेपालका कार्यकारी उपाध्यक्ष भएर दुई कार्यकाल काम गरिसकेका नेता हुन् । जिल्लाबाट ढुङ्गेल सहित ८ जना सिफारिस भए पनी लामो समय पार्टीमा काम गरेको आधारमा केन्द्रीय एमाले सचिवालय ढुङ्गेललाई टिकट दियो । ढुङ्गेल पहिलो पटक जनप्रतिनिधिको रूपमा निर्वाचनमा सहभागी भएका छन् ।
यस पटक रामेछापमा बलियो संगठन र नयाँ अनुहार, स्वच्छ, शालीन र बौद्धिक युवा भएकोले ढुङ्गेलको जीत्ने सम्भावना बलियो आकलन गरिएको छ ।

आफ्नैबाट खड्कालाई असहयोग

रामेछापमा संगठन बलियो नेपाली कांग्रेस पनी अग्रपंतीमा आउछ । कांग्रेसबाट पुराना नेता रामचन्द्र खड्काले टिकट हात पारे सैंगै उम्मेदवारी दर्ता गराएका छन् । खड्का २०७० सालको संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नं २ बाट उम्मेदवार बनेका थिए । शिक्षण पेसामा आबद्ध उनी लामो समय नेपाली कांग्रेस रामेछापको सभापति भएर नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् ।
गगन थापा निकट खड्का वर्तमान जिल्ला सभापति पूर्ण बहादुर (कान्छाराम) तामांग शेरबहादुर देउवा पक्षको भएकोले खड़कालाई पार्टी भित्रबाट घात हुने आशंका छ । कान्छारामले टिकट ल्याए भनेर प्रचार गरे पनी अन्तिम उम्मेदवारी मनोनयन गर्ने दिन केन्द्रबाट खड्काले टिकट हात पारेकोले आफ़नैबाट घात हुने सम्भावना बढ़ी छ।
श्रेष्ठ दोहोरिदा घाटा
नेपाली कम्युनिस्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ (कुशल) ले टिकट हात पारेर उम्मेदवार बनेका छन् । प्रचण्ड निकट श्रेष्ठ २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए भने २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
२०७४ मा उनी गठबनधनबाट विजयी हासिल गरेका थिए । उनी पूर्व गृह राज्यमन्त्रीसमेत हुन् । श्रेष्ठ मन्त्री हुँदा आफ़नो श्रेत्रमा काम नगरेको आरोप छ । तत्कालीन नेकपा माओवादीका नेता कार्यकर्ता समेत श्रेष्ठ संग रुष्ट रहेको बेला माधव नेपालको संघीय समाजवादी मिसिदा रामेछापमा मिश्रित प्रतिक्रिया छ ।
समाजवादीबाट होम बुढ़ाथोकीले टिकट पाउने आकलन गरे पनी श्रेष्ठले नै टिकट हात पारे पश्चात् समाजवादीका केहि नेता एमालेमा घर फ़र्केका छन भने ज़िल्लाका नेताहरू निष्क्रिय भएका छन् ।

नयाँमा भर कम
रामेछापमा राष्ट्रीय र क्षेत्रीय रूपमा सक्रिय राजनीति पार्टीबाट पनी मनोनयन दर्ताले चर्चा कमाएको छ । यसैगरी अहिले बढ़ी चर्चा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. कृष्णहरि बुढाथोकीको चर्चा पनी बढ़ेको छ । २ दशक लामो बैंक जागीर छोड़ेर संसद बन्ने हुटहुट्टीले बुढ़ाथोकीलाई रास्वपामा पुराएको छ ।
राष्ट्रीय स्तरमा चर्चा कमाएको यस चुनावको आइडल रास्वपाले रामेछापमा गतिलो उम्मेदवार पाएको छ । माओवादी नजीक बुढ़ाथोकीको परिवारमा एमाले बाहुल्य थियो । मन्थली १२ का बुढ़ाथोकीका दाई वडा अध्यक्षमा पराजित भएका थिए ।
रास्वपाको चर्चाको बीच बुढ़ाथोकीले रामेछापमा सामाजिक क्षेत्रमा पनी सक्रिय रहेकोले राम्रै भोट ल्याउने आकलन गरिएको छ ।
रामेछापमा अन्य १७ जनामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोरे तामाङले उम्मेदवारी दिएका छन् ।
नेपाल मजदुर किसान पार्टीकी केशरी श्रेष्ठ एक मात्र महिला उम्मेदवार हुन् भने बाँकी १६ जना पुरुष रहेका छन् ।
स्वतन्त्र उम्मेदवारका रूपमा अरुण कार्की, बाबु काजी खड्का र सन्तोष घिमिरेले उम्मेदवारी दिएका छन् । अन्य दलहरूबाट श्रम संस्कृति पार्टीका ढालबहादुर खपाङी मगर, नेशनल रिपब्लिक पार्टीका यामबहादुर मोक्तान, उज्यालो नेपाल पार्टीका दीपबहादुर योन्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीका बिरेन्द्र श्रेष्ठ, आम जनता पार्टीका पदमबहादुर तामाङ, मंगोल नेशनल अर्गनाइजेसनबाट विनोद घिसिङ उम्मेदवार बनेका छन्।