मङ्गलबार, साउन १९, २०८३

तामाकोशीका ज्येष्ठ नागरिक सम्मानित

दोलखा । तामाकोशी गाउँपालिकाका जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ ।

मंगलबार एक विशेष कार्यक्रम गरी ८८ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको हाे । “ज्येष्ठ नागरिक प्रति श्रद्धा र सम्मान” भन्ने नाराका साथ राष्ट्रिय ज्येष्ठ नागरिक कोषको आयोजना तथा तामाकोशी गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो।

गाउँपालिकाकी उपाध्यक्ष सृजना खड्का सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले ज्येष्ठ नागरिकको अवस्था सुधार गर्न परिवार, समुदाय र सरोकारवाला निकायबीच बलियो सहकार्य हुनुपर्ने धारणा राखेका थिए। कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति देवी प्रसाद सुवेदीले कोषले देशैभरि ज्येष्ठ नागरिकको अधिकारका लागि काम गरिरहेको बताउनुभयो।

राष्ट्रिय वाणिज्य बैंकको विशेष सहयोगमा सञ्चालित सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सम्मान पाउँदा ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गर्दै स्थानीय सरकारले आफूहरूको अभिभावकत्व ग्रहण गरेको महसुस भएको बताएका थिए।