काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सुस्तामा भारतीय पक्षबाट भएको भनिएको सीमा अतिक्रमणको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद बरालले भारतीय सेना सिभिल पोशाकमा प्रवेश गरेको र सुस्ताको भूमिमा पुनः समस्या उत्पन्न भएको दाबी गर्दै यस विषयमा सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए ।
उनले भने,‘आज फेरि देशको भूमिमा भारतीय सेनाले सिभिल ड्रेस लगाएर प्रवेश गरेका छन् । र सुस्ताको जमिनमाथि फेरि घाउ, चोट लागेको छ । सुस्तावासीहरूले प्रतिवाद गर्न बाध्य भएका छन् र आज देश फेरि सीमा अतिक्रमणको पीडामा परेको छ । प्रधानमन्त्रीज्यू, यसको संवेदनशीलतालाई महसुस गर्न कति समय यो संसदले खर्च गर्नुपर्ने हो ? कति समय माननीय सदस्यहरूले ध्यान आकृष्ट गर्नुपर्ने हो ? यो अत्यन्त लज्जाको विषय बनेको छ । म यस विषयमा प्रधानमन्त्रीज्यूले देशप्रति आफ्नो भूमिका निर्वाह गरोस्, यसको भूमिकामा अभिलम्ब अगाडि बढ्नुस् भन्ने कुरातर्फ म ध्यान आकृष्ट गराउन चाहन्छु ।’
बरालले सुनसरीमा भएको घटनाप्रति पनि सरकारको भूमिकामाथि प्रश्न उठाए । सामान्य विवादलाई समयमै नियन्त्रण गर्न नसक्दा तीन जना युवाको ज्यान गएको उल्लेख गर्दै उनले धार्मिक सद्भाव र सामाजिक शान्तिमा चुनौती उत्पन्न भएको बताए ।
उनले राजनीतिक दल, धार्मिक अगुवा र नागरिकस्तरबाट भएका प्रयासले अवस्था सामान्यतर्फ फर्किएको भए पनि घटनाले दिएको चोट अझै बाँकी रहेको बताए । मृतकका परिवारलाई भेट्ने तथा राहतका प्रयास भए पनि त्यसले पीडितको मन जित्न नसकेको उनको भनाइ थियो ।
सुनसरी घटनाको छानबिनका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै सांसद बरालले सरकारले गठन गरेको छानबिन प्रक्रियामाथि असन्तुष्टि जनाए ।
उनले सुनसरी घटनामा ज्यान गुमाएका नागरिकको मृत्युको नैतिक जिम्मेवारी गृहमन्त्री र प्रधानमन्त्रीले लिनुपर्ने बताए । घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गरी दीर्घकालीन समाधान खोज्न उनले सरकारसँग आग्रह गरे ।
त्यस्तै, विराटनगरका एक उद्योगी परिवारमाथि अनुसन्धान गर्ने क्रममा सरकारले अपनाएको शैलीप्रति पनि उनले आपत्ति जनाए । लामो समयदेखि उद्योग, शिक्षा र व्यवसाय क्षेत्रमा योगदान दिँदै आएको प्रतिष्ठित घरानामाथि बिहानै घेरा हालेर गरिएको अनुसन्धान प्रक्रियाले व्यवसायिक क्षेत्रलाई त्रसित बनाएको उनको दाबी थियो ।

