टोकियो । जापानकी नवनिर्वाचित प्रधानमन्त्री सानाए ताकाइचीले नयाँ मन्त्रिपरिषद् गठन गरेकी छन् । लिब्रल डेमोक्रेटिक पार्टीकी अध्यक्ष ताकाइचीलाई जापानको १०४औँ पहिलो महिला प्रधानमन्त्रीको रूपमा अनुमोदन गरेका हो ।
प्रधानमन्त्री निवासमा आयोजित सत्तारुढ दलका नेताहरूको बैठकपछि नयाँ मुख्य मन्त्रिपरिषद् सचिव किहारा मिनोरुले मन्त्रिपरिषद् मन्त्रीहरूको सूची घोषणा गरेका थिए । यसपछि पदग्रहण समारोह र पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
नवनिर्वाचित प्रधानमन्त्री ताकाइचीले जीवनयापन खर्च बढ्दै गएको परिस्थितिलाई सामना गर्न आफ्नो सरकारले छिट्टै आर्थिक प्रोत्साहन प्याकेज ल्याउने बताएकी छन्। उनले पहिलो पत्रकार सम्मेलनमा अहिलेको सरकारको मुख्य प्राथमिकता अर्थनीति कार्यान्वयनमा केन्द्रित हुने बताएकी हुन् ।
६४ वर्षीया ताकाइचीले पहिलो मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरूलाई प्रोत्साहन प्याकेज तयार गर्न निर्देशन समेत दिएकी छिन्। उनले अस्थायी पेट्रोल कर दर हटाउने, र हालको करमुक्त आय सीमा १० लाख ३० हजार येनभन्दा माथि पुर्याउने योजना अघि सारेकी छन् । उनका अनुसार यी कदमहरूले जनताको वास्तविक आय बढाउने र घरपरिवारको खर्च घटाउने लक्ष्य राखिएको छ। साथै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्च आयात शुल्कहरूले जापानमा पारेको असरलाई कम गर्ने प्रतिबद्धता पनि जनाएकी छन्।
राजनीतिक हिसाबले लिबरल डेमोक्रेटिक पार्टी र जापान इन्नोभेशन पार्टीबीच बनेको गठबन्धन संसदमा बहुमतविहीन भएकाले ताकाइचीले अन्य विपक्षी दलहरूसँग सहकार्यको आग्रह गरेकी छन्।
पत्रकार सम्मेलनमा कूटनीतिक पक्षमा ताकाइचीले मलेसियामा हुने आसिएन सम्मेलन र दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनमा सहभागी भई अन्य देशका नेताहरूसँग भेटवार्ता गर्ने तयारी रहेको बताइन्।
उनले गठन गरेको नयाँ मन्त्रिपरिषद् टोलीमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा योशिमासा हायासी, न्याय मन्त्रीमा हिरोशी हिरागुची,परराष्ट्र मन्त्रीमा तोशिमिचु मोतेगी, र अर्थ मन्त्रीमा साचुकी खातायामा,रक्षा मन्त्रीमा सिन्जिरो कोइजुमी, शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालय योहेइ माचुमोतो, त्यसैगरी स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रीमा केनइचिरो उएनो,कृषि, वन र मत्स्य मन्त्रीमा नोरिकाजु सुजुकी र अर्थ, व्यापार तथा उद्योग मन्त्रीमा र्योसेइ आकाजावा रहेका छन् ।
यसका साथै भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयमा यासुशी खानेकोलाई चयन गरिएको छ भने वातावरण तथा आणविक विपत व्यवस्थापन मन्त्रीमा हिरोताका इसिहारा,मुख्यमन्त्री सचिवालयका रूपमा ओकिनावा मामिला र अपहरण मुद्दा हेर्न मिनोरु किहारा, डिजिटल रुपान्तरण, साइबर सुरक्षा र प्रशासनिक सुधारका मन्त्रीमा हिसाशी माचुमोतोलाई चयन गरिएको छ।
साथै, पुनर्निर्माण तथा विपद् व्यवस्थापन मन्त्रालयको जिम्मेवारीमा ताकाओ माकिनो छन् भने राष्ट्रिय सार्वजनिक सुरक्षा आयोगका अध्यक्ष र महासागर नीति मन्त्रीमा जिरो आकामा चयन भएका छन् । सामाजिक नीति तथा लैङ्गिक समानता विभाग भने हितो किकावादाले सम्हाल्ने छन्, जसमा बालबालिका, जन्मदर गिरावट र क्षेत्रीय पुनरुत्थानका नीति पनि समावेश छन्।

