काठमाडौं । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप नगर्ने तयारी गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, नेता अर्जुननरसिंह केसीलगायत पदाधिकारीहरूले मंसिरभित्र जुनसुकै हालतमा नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए । पार्टीको महाधिवेशन नियमित र समयमै गर्नुपर्नेमा नेताहरू एक मत देखिएका छन् ।
बैठकमा महामन्त्री गगन थापाले मंसिरमा कसरी महाधिवेशन गर्न सकिन्छ भनेर प्रारम्भिक मस्यौदासमेत पेस गरेका थिए । झसामान्य अवस्थामा छ महिना लाग्ने हो भने विशेष अवस्थामा दुई महिनाभित्र महाधिवेशन गर्न सकिन्छ भनेर महामन्त्री थापाले कार्यतालिकाको मस्यौदा नै प्रस्तुत गर्नुभयो ।
महामन्त्री थापाले नियमित समयमा महाधिवेशन गर्न नसक्ने भए दोस्रो विकल्पको रूपमा पुरानै महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गर्न सकिने भन्दै पहिलो प्राथमिकता भने नियमित महाधिवेशन हुनुपर्ने बताएका थिए ।
बैठकमा बोल्दै नेता शेखर कोइरालाले विगतकै बोली दोहोर्याउँदै किन्तु परन्तु होइन, शीध्र नियमित महाधिवेशन गर्नुपर्छ भन्दै बोलेका थिए ।
बैठकमा बोल्ने नेताहरूले महाधिवेशन तयारीका लागि रातदिन खट्न सक्ने नेतृत्व चाहिने र त्यसका लागि कार्यवाहकले त्यो गर्ने अथवा अरु कोही सिनियर नेताले संयोजन गर्ने भन्ने टुंगो गर्नु उचित हुने बताएका थिए ।
यस्तै, बैठकमा २१ फागुनमा चुनाव गर्न सरकारलाई साथ र दबाब दिनुपर्ने पनि कुरा उठेको छ । महामन्त्री शर्माले प्रतिनिधिसभा विघटनलाई कार्यसम्पादन समितिले असंवैधानिक ठहर गरेको भन्दै अदालतले गर्ने संवैधानिक परीक्षण नै अन्तिम हुने बताएका थिए ।
बैठकपश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता प्रकाशशरण महतले अशान्त वातावरणमा चुनाव हुन नसक्ने भन्दै सरकारलाई सचेत गराएका थिए ।