आइतबार, बैशाख ०६, २०८३

आफूविरुद्ध लगाइएका आरोपको निष्पक्ष छानबिन गर्न ओलीको चुनौती

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका नेताहरुसँग पार्टी एकताबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् । अस्पतालमा उपचारका क्रममा भेटे पनि एकताको विषयमा कुनै कुराकानी नभएको ओलीको भनाइ छ ।
एमाले नेता विशाल भट्टराईले अध्यक्ष ओलीसँग भेटपछि सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएका हुन् ।
भट्टराईका अनुसार अस्पतालबाट डिस्चार्ज भएको दोस्रो दिनमै निवासमा भेट्दा ओलीको स्वास्थ्य सुदृढ देखिएको थियो । ‘यत्तिको उमेर र जटिल स्वास्थ्य अवस्थाका बाबजुद पनि उहाँलाई हसिलो मुद्रामा देख्दा उत्साहजनक लाग्यो’ उनले उल्लेख गरेका छन् । पित्तथैलीमा २४ एमएमको पत्थरी देखिएपछि गरिएको शल्यक्रियासँगै हर्नियाको समेत अपरेशन गरिएको जानकारी उनले दिएका छन् ।
भट्टराईका अनुसार ओलीको उच्च मनोबल नै स्वास्थ्य सुधारको प्रमुख कारण बनेको छ। भेटका क्रममा अध्यक्ष ओलीले पार्टी एकताको सन्दर्भमा स्पष्ट धारणा राख्दै एमालेको सिद्धान्त, नीति र कार्यक्रम स्वीकार गर्ने शक्तिसँग मात्र एकता सम्भव हुने बताएका छन् । ‘सैद्धान्तिक, वैचारिक र सांगठनिक एकरूपता बिना कुनै पनि पार्टी एकता सम्भव हुँदैन उनको भनाइ उद्धृत गरिएको छ। साथै, एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको नीति र नेतृत्व स्वीकार गर्नेहरूसँग मात्र सहकार्य हुनसक्ने उनले बताएका छन् ।

ओलीले पूर्ण रूपमा स्वास्थ्यलाभपछि पार्टीका नियमित गतिविधिमा फर्कने र देशव्यापी रूपमा कार्यकर्ता तथा जनतामा आशा जगाउने कार्यक्रम अघि सार्ने तयारीमा रहेको पनि बताएका छन् ।
अध्यक्ष ओलीले आफूविरुद्ध गरिएको धरपकडलाई प्रतिशोधपूर्ण र पूर्वाग्रहयुक्त भन्दै अदालतले न्याय दिएको उल्लेख गरेका छन् । साथै, आफूविरुद्ध लगाइएका आरोपहरूको निष्पक्ष छानबिन गर्न चुनौती दिएका छन् ।

यसमा तपाईको प्रतिक्रिया