काठमाडौं । सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई वैधानिकता दिएपछि रक्षात्मक बनेको कांग्रेसको शेरबहादुर देउवा पक्षले केही दिनका लागि ‘पर्ख र हेर’को रणनीति बनाएको छ । शनिबार र आइतबार दुई दिन समूहको छलफल गरेपछि कांग्रेस नेतृत्वले अपनाउने भूमिका हेरेर थप रणनीति तय गर्ने निचोडमा उक्त समूह पुगेको हो ।
संस्थापनले देउवा समूहलाई ‘सम्मानजनक व्यवहार’ नगरे विकल्पमा जानुपर्ने गरी उक्त समूहमा समीक्षा भएको छ । अदालतको आदेश पछि निरन्तर छलफलमा जुटेको उक्त पक्षले आज आफ्नो पक्षका पूर्व केन्द्रीय सदस्यहरूको बैठक राखिएको थियो ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा शनिबार देउवा समूहका शीर्ष नेताको बैठक राखिएको थियो ।
विशेष महाधिवेशनको विरुद्दमा खरो उत्रेका चार नेताहरू खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलाई अघि राखेर पूर्व केन्द्रीय सदस्यहरूले विचार राखेका थिए ।
देउवा पक्षले राखेको छलफलमा नेता डा.शेखर कोइराला पक्षका नेताहरू भने गएनन् । साथै, पूर्व महामन्त्री डा.शशांक कोइराला पनि आजको छलफलमा उपस्थित भएनन् ।
छलफलमा करिब तीन दर्जन पूर्व केन्द्रीय सदस्य सहभागी भएका छन् । शेखर पक्षका नेताहरूको बैठक आइतबार बिहान छुट्टै बसेको थियो । दुई पक्षमा विगतमा मध्यस्थताको भूमिका निर्वाह गर्दै आएका शेखर पक्षको बैठकले अदालतको आदेश स्विकार्ने निर्णय गरेको छ ।

