रोयटर्स । संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धविराम कायम रहने विषयमा अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढेको छ । अमेरिकाले नाकाबन्दी तोड्ने प्रयास गरेको इरानी कार्गो जहाज नियन्त्रणमा लिएको दाबी गरेपछि र इरानले त्यसको प्रतिशोध लिने चेतावनी दिएपछि तनाव चर्किएको हो ।
अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ भने इरानले हर्मुज जलडमरूमध्यमा जहाज आवतजावतमा आवधिक रूपमा अवरोध सिर्जना गर्दै आएको छ । उक्त जलमार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने गर्दछ ।
अमेरिकी सेनाले इरानी झण्डा बोकेको जहाज बन्दर अब्बासतर्फ जाँदै गर्दा नियन्त्रणमा लिएको जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले जहाज पूर्ण नियन्त्रणमा रहेको र त्यसको सामग्री जाँच भइरहेको बताएका छन् ।
इरानले उक्त जहाज चीनबाट आएको दाबी गर्दै अमेरिकी कदमलाई ‘समुद्री डकैती’ भनेको छ र चाँडै प्रतिकार गर्ने चेतावनी दिएको छ । यसबीच तेलको मूल्य बढेको छ भने सेयर बजारमा अस्थिरता देखिएको छ ।
इरानले जारी नाकाबन्दी, धम्कीपूर्ण अभिव्यक्ति र अमेरिकाको ‘अत्यधिक माग’ को कारण देखाउँदै नयाँ शान्ति वार्ता अस्वीकार गरेको छ ।
ट्रम्पले भने इरानले आफ्ना सर्त अस्वीकार गरे त्यहाँका पूर्वाधार ध्वस्त पार्ने चेतावनी दिएका छन् । त्यसको जवाफमा इरानले खाडी क्षेत्रका देशहरूका ऊर्जा पूर्वाधारमा प्रहार गर्न सक्ने संकेत गरेको छ ।
दुई साताको युद्धविराम समाप्त हुन एक दिनअघि अमेरिकी प्रतिनिधिमण्डल इस्लामाबाद पुग्ने तयारीमा रहेको बताइएको छ । पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै वार्ताको तयारी तीव्र पारेको छ ।
यसक्रममा इस्लामाबादमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सार्वजनिक यातायात नियन्त्रण गरिएको छ भने वार्ता स्थल वरपर सुरक्षा घेरा बढाइएको छ ।

