काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०४६ सालपछिका सबै नेताको सम्पत्ति छानबिन गर्ने अधिकार कुनै पनि दलप्रति पूर्वाग्रही नभएको व्यक्तिलाई दिनुपर्ने बताएका छन् ।
आइतबार नेपाल विद्यार्थी संघ दोलखा काठमाडौँ सम्पर्क समितिको आयोजनामा काठमाडौँमा भएको ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक कार्यक्रममा बोल्दै महामन्त्री थापाले छानबिनका क्रममा जजसको नाम आए पनि आयोगको प्रतिवेदन स्वीकार्ने आँट पार्टीले गर्नसक्ने मात्रै जेन–जी पुस्ताले आफूहरुका कुरा सुन्ने जिकिर गर्नुभयो । उहाँले नयाँ पुस्ताको अपेक्षा भ्रष्टाचारमुक्त र सदाचारयुक्त राजनीतिप्रति केन्द्रित रहेको समेत उल्लेख गरे ।
भ्रष्टाचार र अनियमितताविरुद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन–जी) को भरोसा जित्न नसकिने उनको भनाइ छ । कांग्रेसले जेन्जी पुस्तालाई विश्वास दिलाउने हो भने २०८४ को चुनावमा पार्टीको बहुमत आउने महाान्त्री थापाकाे दाबी छ ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जेन्जी अर्थात् नयाँ पुस्ताको आक्रोश, असन्तोष र आशावादी दृष्टिकोणलाई समयमै सम्बोधन नगरे लोकतन्त्रप्रति वितृष्णा गहिरिने बताए । वर्तमान पुस्ताले संविधान, चुनाव र सरकार परिवर्तन सबै देखे पनि आफ्ना जीवनका आधारभूत पक्षहरू शिक्षा, रोजगारी, स्वास्थ्य र न्यायमा सुधार नदेखेकै कारण असन्तोष बढेको उनले उल्लेख गरे ।
युवापुस्तासँग संवाद मात्र नभई सहकार्यको नयाँ संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीलाई आग्रह गर्दै टेक्नोलोजीप्रेमी जेन्जी पुस्तालाई ‘फेसबुक लिडर’ मात्र नभई उनीहरूलाई नीतिगत निर्णय प्रक्रियामा संलग्न गराउनुपर्ने बताए ।
यस्तै, जेन्जी पुस्ताको नेतृत्व गगन थापाले गर्न सक्ने भन्दै दोलखा कांग्रेस जिल्ला सभापति बर्मा लामाले आफूहरु पछाडि रहेर काम गर्न तयार रहेको स्पष्ट पारे ।