टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको १९औं महाधिवेशनको सम्पूर्ण क्रियाकलापहरू रोक्न माग गरेको छ । आउने शनिवार मे २४ तारिख हुने भनिएको महाधिवेशनको अन्तिम चरणको प्रक्रियामा गम्भीर विवाद उत्पन्न भए पछि गुरुङ समाज जापानले महाधिवेशनको प्रक्रिया रोक्न माग गरेको हो ।
विधानसम्मत रूपमा उम्मेदवारी दर्ता गराउँदा पनि नेफिन जापानको निर्वाचन समितिले गुरुङ समाज जापानको उम्मेदारीता दर्ता गर्न अस्वीकार गरेको भन्दै कडा आपत्ति जनाएको हो ।
नेफिन जापानमा पछिल्लो समय तमु धीं जापान र गुरुङ समाज जापानको विवाद नेफिनमा आएर अड़किएको छ । गुरुङ समाज जापानले गुरुङ समुदायको नेपालबाट नै आधिकारिकता प्राप्त गरेपछी नेफिन जापानको सदस्य संस्थाको टुंगो लगाएर मात्र
महाधिवेशनको क्रियाकलापहरू गर्न समाजले अपिल गरेको छ ।
समाजले यस कार्यलाई नेफिनको विधान, नियमावली र आदिवासी जनजाति आन्दोलनकै उपहास भएको टिप्पणी गरेको छ । गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, समाजले नेफिन जापानको अध्यक्ष, सचिव र सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिनका लागि सम्पूर्ण प्रावधान पूरा गरी तोकिएको दस्तुरसहित विधिवत् मनोनयन दर्ता गराएको थियो । तर, भोलिपल्ट निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्न असमर्थ भएको लिखित जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ ।
गुरुङ समाज जापानले आफू तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, नेपालको आधिकारिक जापान शाखा भएको र उक्त मातृसंस्था नेफिन नेपालको विधानको अनुसूची ६ को ७ नम्बरमा उल्लिखित सदस्य संस्था रहेको स्पष्ट पारेको छ । साथै, नेफिन नेपालको प्रवास संगठनको नियमावली २०७९ को दफा ४ को उपदफा ‘क’ मा ‘विदेशस्थित महासंघहरूको हकमा नेपालमा आदिवासी जनजाति महासंघ आबद्ध अनुसूची ७ मा उल्लिखित जातीय संगठनहरू मातृसंस्था मानी सोही मातृसंस्थाले आधिकारिकता प्रदान गरेको जातीय सदस्य संगठनलाई विदेशस्थित आदिवासी जनजाति महासंघमा आबद्धताको लागि योग्य मानिनेछ यस संवैधानिक व्यवस्थाअनुसार गुरुङ समाज जापान नेफिन जापानमा आबद्ध हुन र निर्वाचनमा भाग लिन पूर्णतः योग्य रहेको तर नेफिन जापानले उम्मेदवारी अस्वीकार गर्नु नेफिनको विधान २०६७ र उक्त विधान अन्तर्गत बनेको नियमावलीविपरीत भएको ठहर समाजको छ । विज्ञप्तिमा भनिएको छ, ‘तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को आधिकारिक जापान शाखाको रूपमा गुरुङ समाज जापान हो भन्ने प्रमाण र कागजातसमेत नेफिन जापान सचिवालय र अध्यक्षसमेतलाई आधिकारिक रूपमा पटकपटक जानकारी गराईसकेका छौं ।’
नेफिन जापानको यस कदमले मातृसंस्था नेफिन केन्द्रलाई नै अपमान गरेको र समग्र आदिवासी जनजाति आन्दोलनमाथि नै प्रहार गरेको गुरुङ समाजको बुझाइ छ । समाजले प्रश्न उठाएको छ, ‘नेपाल आदिवासी जनजाति महासंघ जापानमा आदिवासी जनजाति आन्दोलन विरोधीहरूको कब्जा त भएको छैन ? नेफिन जापानलाई गलत मनसाय र उद्देश्यमा प्रयोग त गरिएको छैन ?’
गुरुङ समाज जापानले नेफिन जापानको १९औं महाधिवेशनका सम्पूर्ण क्रियाकलापहरू रोकेर आफ्नो उम्मेदवारी दर्ता गर्न र निर्वाचनमा भाग लिन पाउने वातावरण सुनिश्चित गर्न जोडदार माग गरेको छ ।
नेफिन जापान शाखालाई नेपाल संघीय परिषदले समेत प्रवास संगठनको दफा ५ को उपदफा ख बमोजिम विवाद समाधान नगरी महाधिवेशन गरे वैधानिकता नदिने गरी पत्र पठाएको छ ।


