जापान । नेपाली कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित जापानको सेन्दाइ सहरमा प्रथम नेपाल फेस्टिवल सेन्दाइ २०२५ आयोजना हुने भएको छ। आउँदो जुन ७ र ८ तारिख शनिबार र आइतबार हुने यो दुईदिने भव्य कार्यक्रम एनआरएनए जापान सेन्दाइ क्षेत्रीय कार्यसमितिको आयोजनामा, नेपाली राजदूतावास जापान र एनआरएनए जापानको सहयोगमा सम्पन्न हुनेछ।
कार्यक्रमको मूल उद्देश्य नेपाली संस्कृति र परम्परागत कलालाई जापानी समुदायमा चिनाउने, जापानी नागरिकहरूलाई नेपालको भ्रमणमा आकर्षित गर्ने तथा आपसी सम्बन्ध थप सुदृढ बनाउने रहेको आयोजकहरूले जनाएका छन्।
फेस्टिवलमा नेपाली परम्परागत नृत्य, संगीत, हस्तकला, खाना, तथा पर्यटन सामग्रीको प्रदर्शनी रहनेछ। यसले जापानी समुदायलाई नेपाली सांस्कृतिक धरोहरको प्रत्यक्ष अनुभूति दिलाउनेछ। साथै, नेपाली समुदायबीच आपसी एकता, सहकार्य र संस्कृति प्रति गौरव अभिवृद्धि हुने विश्वास लिइएको छ। एनआरएनए जापान सेन्दाइ क्षेत्रीय समितिका उपसंयोजक तथा नेपाल फेस्टिवल सेन्दाई २०२५ का प्रचार- प्रसार संयोजक अनिल गिरीका अनुसार फेस्टिवलको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ र जापानभरिका नेपालीहरूलाई सहभागी हुन विशेष अनुरोध गरिएको छ।
सेन्दाईमा अन्तरक्रिया कार्यक्रम गरिएको छ। कार्यक्रममा सेन्दाई तथा आसपासका सामाजिक संघसंस्था, राजनीतिक दल, व्यवसायी, बुद्धिजीवी, सञ्चारकर्मीलगायत विभिन्न समुदायका प्रतिनिधि सहभागी भएका थिए।
कार्यक्रममा आयोजक समितिले फेस्टिवलको प्रस्तावपत्र प्रस्तुत गर्दै आयोजनाका रूपरेखा, उद्देश्य र अपेक्षित उपलब्धिबारे जानकारी गराएको थियो। यस क्रममा सहभागीहरूबाट प्राप्त सुझाव, सल्लाह तथा मार्गदर्शनका आधारमा प्रस्तावपत्रलाई परिमार्जन गरी योजना निर्माण गरिने आयोजकले प्रतिबद्धता जनाएको छ।
आयोजकका अनुसार फेस्टिवलको मूल उद्देश्य नेपाली कला, संस्कृति, भाषा र सभ्यता जापानसहित अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनु हो। साथै जापानवासी नेपालीबीच भावनात्मक एकता, समझदारी र सौहार्दपूर्ण सम्बन्ध विस्तार गर्नु पनि यसको उद्देश्य हो।
सहभागीहरूको सुझावअनुसार, फेस्टिवलमा नेपालका विभिन्न जातीय समुदायको सांस्कृतिक झाँकी, नृत्य, भेषभूषा, खानाका परिकार, हस्तकला तथा लोकसंगीतको आकर्षक प्रदर्शन गरिनेछ।
कार्यक्रममा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायत दक्षिण एसियाली मुलुकका सांस्कृतिक टोलीलाई समेत आमन्त्रण गर्ने प्रयास गरिने बताइएको छ। यस्तै जापानमा गौतम बुद्धको जन्मस्थानबारे रहेको भ्रम हटाउन र उनी नेपालमै जन्मेको कुरा प्रचार गराउन बुद्धसम्बन्धी विशेष कार्यक्रम, र्याली, चित्र प्रदर्शनी र प्रचार सामग्री फेस्टिवलमा समावेश गरिने आयोजकले जानकारी दिएको छ।
फेस्टिवल सफल बनाउन सेन्दाई सिटी अफिस, स्थानिय निकाय, जापानी संघसंस्था र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य र समन्वय गरिने बताइएको छ।
आयोजकले फेस्टिवल सफल बनाउन जापानवासी सबै नेपालीलाई आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्न अपिल गरेको छ। प्रथम नेपाल फेस्टिबल सेन्दाई २०२५ को स्टल बुकिंग खुल्ला गरेको छ ।


