टोकियो । जापानको माउन्ट फुजीमा ठूलो मात्रामा ज्वालामुखी विस्फोट हुने चेतावानी दिएको छ । जापान सरकारले नियुक्त गरेको विज्ञहरुको समुहले ज्वालामुखी विस्फोट हुादा ठूलो मात्रामा खरानी निस्किएमा बच्ने उपायहरू सरकारलाई सुझाव दिएको छ । जापानको सर्वोच्च शिखर माउन्ट फुजीमा अन्तिम पटक ३०० वर्षभन्दा पहिले विस्फोट भएको थियो ।
ज्वालामुखीविद् र प्रकोप तयारी विशेषज्ञहरूको प्यानलले शुक्रबार आफ्नो प्रतिवेदन जारी गर्दै सरकारलाई उद्दार र आवश्यक तयारी गर्न सल्लाह दिएको हो । माउन्ट फुजीको अन्तिम विस्फोटको तथ्यांक सन् १७०७ मा भएको थियो । विज्ञहरूले त्यस बेलाको समान स्तरको विस्फोटले टोकियो, खानागावा, साइैतामा प्रिफेक्चर र अन्यत्रको विस्तृत क्षेत्र १० सेन्टिमिटर बढी खरानीले ढाक्ने बताएको छ ।
विज्ञहरुले सम्भव भएसम्म सम्भावित प्रभावित हुने क्षेत्रका बासिन्दाहरूलाई दुई हप्तासम्म आफुलाई पुग्ने खाद्यान्न, पानी लगायत अत्यावश्यक बस्तुहरुको भण्डारण गर्न सुझाव दिएको छ । स्थानीय अधिकारीहरू र व्यवसायहरूलाई मुख्यतया प्रमुख पूर्वाधारहरूको मर्मत र चेकजाँचमा ध्यान केन्द्रित गर्न आग्रह गरिएको छ।
ज्वालामुखीका कारण फोहोर जम्मा हुने क्षेत्रका मानिसहरूले बासस्थान खाली गर्न आवश्यक रहेको बताएको छ । डायलिसिस वा नर्सिङ हेरचाह आवश्यक पर्ने मानिसहरूले पनि खरानी ३ सेन्टिमिटर पुगेपछि बासस्थान खाली गरेर सुरक्षित स्थानमा जानुपर्ने बताएको छ । केन्द्रीय र स्थानीय सरकारहरूले पनि निकासी मार्गहरू सुरक्षित गर्न आवश्यक रहेकोमा विज्ञहरुले जोड दिएका छन् ।