काठमाडौं । भोजपुरका वरिष्ठ शिक्षाविद केदारनाथ श्रेष्ठ र उहाँकी धर्मपत्नी साहित्यकार लीलादेवी श्रेष्ठलाई आगामी फागुन २८ गते शिखर अभिनन्दन गरिने भएको छ । शिक्षा, साहित्य, स्वास्थ्य, अध्यात्म आदिको माध्यमबाट सामाजिक विकासमा निर्वाह गरेको उल्लेखनीय भूमिकाको कदरस्वरुप श्रेष्ठ दम्पतीलाई अभिनन्दन गर्न लागिएको हो ।
सूचक प्रकाशनको संयोजनमा हुन लागेको अभिनन्दन समारोहमा शब्दयात्रा प्रकाशन, दियो फाउन्डेसन नेपाल, गुन्जन (नारी साहित्यिक संस्था), नारी साहित्य प्रतिष्ठान, लोमश वाङ्ममय प्रतिष्ठान, सलोन फाउन्डेसन नेपाल, क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार कोष, विश्व साहित्यिक प्रकाशन संघ, माइण्ड प्लस, स्रष्टा पदयात्रा नेपाललगायत एघार वटा राष्ट्रिय स्तरका संघसंस्थाको सहभागिता रहने भएको छ ।
कला, संस्कृति, भाषा, साहित्य, समाजसेवा, अध्यात्म, स्वास्थ्य, शिक्षा आदि क्षेत्रमा विशेष योगदान दिने व्यक्ति वा संस्थालाई प्रत्येक तीन वर्षमा प्रदान गरिँदै आएको शिखर अभिनन्दन यो पटक श्रेष्ठ दम्पतीलाई प्रदान गर्ने निर्णय भएको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल (दीपसागर)ले बताए ।
सूचक प्रकाशनले संयोजन गर्दै आएको शिखर अभिनन्दनबाट यसअघि सत्यमोहन जोशी, माधवप्रसाद घिमिरे, डा. निरन्जन पौडेल र साहित्यकार भद्रकुमारी घले सम्मानित भएका छन् ।