शुक्रबार, जेठ ०३, २०८२

सर्वेन्द्र खनालले छाडे एमाले

काठमाडौं । पूर्वआइजिपी सर्वेन्द्र खनालले नेकपा एमाले परित्याग गरेका छन् । आइतबार सामाजिक संजालमार्फत खनालले पार्टी परित्याग गरी आफू स्वतन्त्र रुपमा रहने जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘हजुरहरु मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहने छु ।’

३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमाले प्रवेश गरेका थिए । त्यसपछि खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । उनी रास्वपाका शिशिर खनालसँग पराजित भए ।

पछि तनहुँमा भएको उपनिर्वाचनमा पनि खनालले उम्मेदवारी दिएका थिए । त्यहाँ पनि खनाल पराजित भएका थिए । पछिल्लो समय उनी एमालेका कुनै कार्यक्रम तथा भेलामा सहभागी हुन छाडेका थिए ।