बिहिबार, मङि्सर ०६, २०८१

मान्छेका सपनाहरू

मान्छेका सपनाहरू

सुतेकाहरू
उज्यालो हेर्न नपाउँदै
पहिरोमा पुरिएर
हराएका छन्
र, पुरिएका छन् पहिरोसँगै
मान्छेका सेता सपनाहरू ।

पहाडबाट झरेका माटोका डल्लाहरू
रूपान्तरित भएका छन् धुलोमा
र, उडेका छन् हावासँगै
पर देखिने क्षितिजसम्म
अमूल्य ती जीवनदायी कणहरू
कहिले पहाडमा गएर ठोकिन्छन्
कहिले हिमालको कापमा गएर बिलाउँछन्
जसरी बिलाइरहेछन् पलपल
मान्छेका भर्भराउँदा सपनाहरू ।

सपना सेर्नेहरू यहाँ
सिर्जिने गर्छन् अनेक रूपमा
जस्तो कि
कहिले भूकम्प बनेर
कहिले पहिरो बनेर
कहिले कोरोना बनेर
कहिले डेङ्गु बनेर
कहिले सुनामी बनेर
कहिले दुर्घटना बनेर
समयको हुरीसँगै बिलाउँछन्
मान्छेका सपनाहरू ।

आकाश छुन जुर्मुराएका मान्छेका सपनाहरू
युगौँयुग लावारिस भएका छन्
रूखबाट खसेका पातहरूझैँ
न माथि पुग्न सक्छन् उडेर
न त सक्छन् समुन्द्रको गहिराइ नाप्न
खोलाको बगरमा थुप्रेका बालुवाका कणझैँ
भौँतारिएका छन् यत्रतत्र
गन्तव्य नभेटेर
मान्छेका सपनाहरू ।

पहाडबाट पहिरो खसे जस्तै
खसेका छन् मान्छेका सपनाहरू
साउनमा बग्ने भेल जस्तै
बगेर ध्वस्त भएका छन्
मान्छेका सपनाहरू ।

प्रकाशोन्मुख कवितासङ्ग्रह जिन्दगी एक यात्राको दोस्रो संस्करणमा समाविष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *