काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो । फक्राउ रोक्न देउवाले वारेशमार्फत दायर गरेको रिटमा सुनुवाइपछि अदालतले यस्तो आदेश दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएपछि क्षेत्राधिकारको प्रश्न उठाउँदै देउवा सर्वोच्च पुगेका थिए ।
आदेशमा भनिएको छ,‘… सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनुपूर्व काठमाडौं जिल्ला अदालतबाट चैत २४ मा पक्राउ पुर्जी जारी गर्न दिइएको अनुमति स्वतः निष्क्रिय हुने देखियो ।’
गत वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी लउन्डरिङ) निवारण ऐन २०६४ लाई संशोधन गर्न बनेको अध्यादेश आएको थियो । तर सर्वोच्चले पक्राउ पुर्जी जारी गर्दा कानूनी प्रक्रिया नै पूरा नगरेको समेत बताएको छ।
आदेशमा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति माग गर्दा र काठमाडौं जिल्ला अदालतबाट तदनरूपको अनुमति प्रदान गर्दा आधार र कारण खुलाएको देखिएन। कसुरको अनुसन्धानका लागि प्रचलित कानूनको अधिनमा रही विधिसम्मत रूपमा पक्राउ गर्न सकिनेमा विवाद नभए पनि त्यस्तो पक्राउ स्वेच्छाचारी रूपमा हुनुहुँदैन ।’
निर्वाचनअघि उपचारका लागि सिंगापुर गएका देउवा दम्पती अझै स्वेदश फर्किएका छैनन् ।

