श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय नभएको र त्यस्तो भाष्य बन्नु दुःखद विषय भएको बताएका छन् ।
मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’को विराटनगरमा बिहीबार आयोजित उद्घाटन समारोहमा मन्त्री अर्यालले श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्य परिवर्तन गर्न पनि श्रमाधान रोजगार मेला फलदायी हुने विश्वास व्यक्त गरे ।
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न केहीअघि श्रमाधान कल सेन्टरको स्थापना गरेको र त्यसले प्रभावकारी ढंगले काम गरिरहेको उनले जानकारी गराए ।
कुनै बजेट नै नभएको अवस्थामा श्रमाधान रोजगार मेला सुरु गरेको र आगामी वर्षहरूमा यसलाई थप विस्तार गरेर लैजाने मन्त्री अर्यालले बताए ।