आइतबार, जेठ ०६, २०८१

ऐतिहासिक बौद्ध तेमाल जात्राको तयारी पूरा,६० हजारबढी भक्तजन सहभागी हुने अनुमान

मायालु तामाङ, काठमाडौं । आगामी वैशाख १० गते विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा मनाउन लागिएको ऐतिहासिक बौद्ध तेमाल जात्राको तयारी पूरा भएको छ ।

श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजन तथा श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको जात्राको आवश्यक तयारी पूरा भएको बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो । बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पहिचानको रुपमा रहेको जीवन्त पर्व हो।

प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने यो जात्रा यस वर्ष आगामी वैशाख १० गरे मनाउन लागिएको बताउँदै श्री बौद्ध नाथ क्षेत्र बिकास समितीका अध्यक्ष राजकुमार लामाले जात्रा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी दिए ।

चैत पूर्णिमा अघिल्लो दिन बौद्धमा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाईस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गरी तेमाल जात्राको समापन गरिन्छ। ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व बोकेको यस पर्वलाई बौद्ध जात्रा समेत भनिन्छ।

काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङहरु आफ्ना दिवङ्गहरुको आत्माको चीर शान्तिको कामना गर्दै बौद्ध महाचैत्यमा पूजाआज गर्ने, दीप प्रज्वलन गर्ने भएकाले यस जात्राको नाम तेमाल जात्रा रहन गएको हो । अहिले यस जात्रामा सहभागी हुन काभ्रेको तेमाललगायत दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, सर्लाही काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट तामाङ समुदायका मानिस आउँछन्।

यस्तै, जात्रामा नेपालका विभिन्न जिल्ला तथा भारतलगायतका मुलुकबाट ६० हजारभन्दा बढी भक्तजनहरु सहभागी हुने आयोजक समितिका प्रवक्ता टासी कुमार लामाले जानकारी दिएका छन् । यसैगरी, तामाङ कल्याण गुठीका सचिव धर्म लामाले तेमाल जात्राको ऐतिहासिक महत्वका बारेमा जानकारी दिएका थिए।

सरकारले बौद्ध तेमाल जात्रालाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरिसकेको छ। जात्रामा निः शुल्क स्वास्थ्य शिविर, आपतकालिन एम्बुलेन्स व्यवस्था, शुद्ध पिउने पानीका साथै शौचालयको व्यवस्था , हेल्प डेस्क लगायत कार्यक्रम पनि गरिने छ। भक्तजनहरुको लागि सहजरुपमा बत्ती बाल्न र पूजा गर्न लामको व्यवस्था गरिएको छ।

धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व र विशेषता बोकेको यश बौद्धनाथ क्षेत्रमा हुन लागेकाे बौद्ध तेमाल जात्रालाई सफलतापुर्वक सप्पन्न गर्नका लागि सबैको सहयोग आवश्यक रहेको श्री बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष जय मंगल् लामाले बताए। बौद्ध स्तूपले धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व र विशेषता बोकेको छ। यसलाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदासूचीमा सूचीकृत गरेको थियो।

बौद्ध किम्बदन्ती अनुसार सत्य युगमा विपश्वी बुद्ध काठमाडौं उपत्यकामा आएर नागार्जुन डाँडामा साधना गरेका थिए । उनैले ऋषि शक्तिले चैत पूर्णिमाको दिन काठमाडौं उपत्यकाको दहमा एक कमलको बिज रोपेका थिए। सोही कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको कथन छ। यसरी विपश्वी बुद्धले कमलको बिज रोपेको स्मरणमा तेमाल जात्रा प्रारम्भ भएको मानिन्छ।

१८९१ असोज २ मा तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले तेमाल जात्रालाई राजकीय चाडको मान्यता दिएको भनाइ पनि छ। अर्को भनाइअनुसार बौद्ध स्तूपको जीर्णोद्धारा सम्पन्न भएको खुसीमा तेमाल राजा बलले तेमाल जात्रा चलाएका हुन्।