काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको संसदीय समितिको विषयमा भोलिसम्ममा सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजत कार्यक्रममा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी कांग्रेससँग आज छलफल भएको र भोलि बिहानसम्म कुनै न कुनै सहमतिमा पुग्ने विश्वास आफूले गरेको बताएका हुन् ।
उनले यस विषयमा एमाले र सभामुखसँग आफूले छलफल गर्ने र त्यसपछि कांग्रेससँग फेरि छलफल गर्ने बताए । उनले भने, ‘जेठ १५ गते ल्याउन लागेको बजेट प्रभावित नहोस् भनेर आफ्नो सम्पूर्ण ध्यान सदन खुलाउनेतिर लागेको छ । अहिले हामी समीकरणमा भएका प्रमुख दल मुख्यतः नेकपा एमालेसँग छलफल छ । मलाई विश्वास छ भोलि बिहानसम्म एउटा टुंगोमा पुर्याउन सकियोस् भनेर लागेको छु।’ प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिन लागेको भन्दै विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताए ।
कांग्रेसको नेताले १२–१३ पटक लिनुपर्ने अवस्था आउँछ भनेको प्रसंग निकाल्दै प्रधानमन्त्रीले जति पटक लिनु परेपनि विश्वासको मत पाउने दाबी गरे ।
उनले भने, ‘मैले ७ गते विश्वासको मत लिने भनेर संसद सचिवालयमा पत्र पठाएको छु । एक जना कांग्रेसको नेताले यसरी नै जाँदा १२/१३ पटक लिनुपर्ने हुन्छ भन्दै हुनुहुन्थ्यो अघिल्लो पटक । अहिले चौथो पटक लिँदैछु, यो पाँचौं, छैटौं हुँदै जाने देखिन्छ । तर, जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ ।