बिहिबार, असार ०४, २०८३

जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २०६ पुग्यो, उद्धार र राहत जारी

जापानमा ७.६ म्याग्निच्युडमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या २०६ पुगेको छ। इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकअनुसार इशिकावा प्रान्तको नोतो क्षेत्रमा गएको भूकम्पका कारण प्रिफेक्चरमा २०६ जनाको मृत्यु भएको हो।

बेपत्ताको संख्या घटेर ५२ पुगेको छ, तर भूकम्पबाट प्रभावित भएको कुनै सङ्केत नभए पनि प्रिफेक्चरल सरकारले पुग्न नसक्ने व्यक्तिको नाम सार्वजनिक गर्ने क्रम जारी रहेकाले यो सङ्ख्या दिनहुँ घट्दै गएको छ ।

भूकम्प पीडितको उद्धार र राहत वितरण अहिले पनि जारी रहेको बताइएको छ। प्रीफेक्चरल सरकारका अनुसार २६ हजार भन्दा बढी व्यक्तिहरू विस्थापित केन्द्रहरूमा रहेका र लगभग ३१ सय बासिन्दाहरू क्षतिग्रस्त सडकहरूको कारण अझै नियमित सम्पर्कमा जोडिन सकेका छैनन । प्रीफेक्चरल सरकारले धेरै मानिसहरू अझै पनि सञ्चारमा कमी र ट्राफिक मार्गहरू काटिएका कारण उनीहरू सुरक्षित छन् कि छैनन् भनेर रिपोर्ट प्राप्त गर्न असमर्थ रहेको बताएको छ।

मङ्गलबारदेखि लगातार परेको वर्षाले हिउँ पग्लन र जमिन पनि नरम भएकाले भूकम्प प्रभावित क्षेत्रमा अस्तव्यस्त जमिनबारे सचेत रहन स्थानीय सरकार र मौसमविद्ले आग्रह गरेका छन् । वाजिमाको एक भत्किएको बजारमा, जहाँ भूकम्पपछि ठूलो आगलागी भएको थियो । पुलिस अधिकारीहरूले हातले भग्नावशेष हटाउँदै दोस्रो दिन पनि ठूलो मात्रामा खोजी अभियान जारी राखेका थिए।

नगरपालिका अनुसार, नोटो प्रायद्वीपको उत्तरी छेउमा रहेको सहर सुजु र छेउछाउको वाजिमामा क्रमशः ९१ र ८३ जनाको मृत्यु भएको छ।

प्रभावित क्षेत्रमा हिउँ परेकाले राहत कार्यमा कठिनाइ भइरहेको छ । सोमबारसम्म झन्डै ३० हजार मानिसहरू ४०० वटा सरकारी आश्रयस्थलमा शरण लिन बाध्य छन् । उनीहरूलाई पर्याप्त खाना, पानीको व्यवस्था गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ ।

झण्डै ६० हजार घरधुरी खानेपानीविहीन छन् भने १५ हजार ६०० घरधुरी बिजुलीविहीन भएका छन् । दिनदिनै परेको वर्षा र पहिरोका कारण सडकको अवस्था बिग्रिएको छ ।

गत मंगलबारको दैनिक विपद्–राहत सरकारी बैठकमा, प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीहरूलाई समुदायको समस्या समाधान गर्न र प्रभावकारी उद्धार कार्य जारी राख्न“ निर्देशन दिएका छन् ।