काठमाडौं । पृष्ठभूमिमा विभिन्न संगीतका धुनहरु गुञ्जदैं गए, पालै पालो विभिन्न जातजातिका आकर्षक पहिरणमा सजिएर मोडलहरु रनवेमाथि ओहोरदोहोर गर्न थाले। हरेक संगीतको धुनले राष्ट्र र मौलिक साँगीतिक पक्षलाई प्रतिनिधित्व गरेको पाईन्थाे ।
हरेक मोडलले पहिरिएको पहिरनले राष्ट्रको साँस्कृतिक, ऐतिहासिक, सामाजिक सम्पदा र संस्कृतिको गरिमामय चिनारीलाई प्रतिबिम्बित गरेका थिए। सृजनात्मक साेच र कल्पनाशिलताले सजिएका यी पहिरनहरूले करिब ४ घण्टाकाे समय उपस्थित फेसन पारखी दर्शकहरूलाई समुन्द्री परिवेशमा विचरण गराएकाे अनुभूति भयाे ।
भनिन्छ फेसन सिर्जना गर्नेहरुका लागि सीमितता हुँदैन । फेसनमा देखिने नयाँ प्रयोग, अकल्पनीय शैलीहरु यसैको उपज हो । साेमबार साँझ जाेपाटीस्थित पिस ब्याङ्क्वेटमा ट्रेबल फेसन कन्सर्न प्रा.लि.को आयोजना र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आयोजित ‘द गोकर्णेश्वर ग्राण्ड फेसन एण्ड कल्चरल शो–२०२३’मा मौलिक नेवारी बाजा धिमेको ताल र सुमधुर संगीतकाे धुनमा माेडलहरूकाे फेसन शो प्रस्तुती निकै नै आकर्षक रहेको थियो ।सांस्कृतिक र ऐतिहासिक गरिमा उजागर गर्ने सृजनाले फेसन शोको आकर्षण बढाएकाे देखिन्थ्यो ।
मोडलहरुको सुन्दरता र आकर्षण, डिजाइनरहरुको मिहनेत र सृजनात्मक अभिव्यक्तिले राष्ट्र राष्ट्रिय धरोहरलाई सम्मान दर्शाएको संघीय सांसद एवं अर्थ समितिका सभापती सन्तोष चालिसे बताउँछन् ।
शोमा बेस्ट मोडल बेनिन मगर, बेस्ट ड्रेस पायल थिङ, बेस्ट फोटोजेनिक अस्मिता क्षेत्री, बेस्ट इस्माइल रिमा कार्की, बेस्ट क्याटवाक येशा र बेस्ट डिसिप्लेन रविनाले पाएका थिए । यस्तै, शोमा लिटिल आईडल नेपाल २०१९ र २०२२ का कन्टेस्टेण्टहरुले पनि शो देखाएका थिए ।
कार्यक्रमले सहभागिहरुको आत्मविश्वास तथा व्यक्तित्व विकास, रचनात्मक क्षमताको उजागर तथा सांस्कृतिकताको संरक्षण, प्रवद्धर्न गर्ने इभेण्ट म्यानेजर तथा कोरियोग्राफर शैलेन्द्र कुमार श्रेष्ठले बताए । शोको को–अर्डिनेटर राजु श्रेष्ठ थिए भने असिस्टेण्ट फेसन कोरियोग्राफर लसता महर्जनले गरेकी थिईन् ।विभिन्न किसिमको सांस्कृतिक नृत्य तथा प्रस्तुति रहेको कार्यक्रममा राष्ट्रिय कलाकारहरु देव राना, राजाराम पौडेल, जितु नेपाल तथा तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक मीन न्यौपाने लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल,नगर प्रवक्ता तथा गो.न.पा ५ का वडाध्यक्ष नारायण सुवेदी, ६ का वडाध्यक्ष नवराज लामा, ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, कलाकार, पत्रकार लगायत स्थानीयको उपस्थिति रहेकाे थियो ।