काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद गोपाल शर्माले सरकार संसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद शर्माले संविधानको धारा ७६(१०) ले सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही हुने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै उक्त संवैधानिक व्यवस्थाको पालना सरकारले नगरेको बताएका हुन् ।
उनले भने,‘हाम्रो संविधानको धारा ७६(१०) ले सरकारलाई संसदप्रति उत्तरदायित्व उल्लेख गरेको छ । संविधानप्रति उत्तरदायी हुने र जवाफदेही हुने सरकारको कर्तव्यलाई पालना गर्नुको सट्टा सरकारले संसदको हुर्मत लिने गरी काम गरिरहेको छ ।’
सांसद शर्माले सरकारका गतिविधिका विषयमा आफूहरूले पटक–पटक संसदमा प्रश्न उठाउँदै आएको पनि बताए । उनले पछिल्लो सन्दर्भमा प्रधानमन्त्रीले संसदको रोष्ट्रम प्रयोग गरेर देशको सीमाबारे दिएको अभिव्यक्ति गलत भएको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने बताए ।
उनले भने,‘यस सन्दर्भमा हामीले पटक पटक संसदमा कुरा उठाएका छौं । पछिल्लो सन्दर्भमा संसदको रोष्ट्रम प्रयोग गरेर प्रधानमन्त्रीले देशको सीमाबारे दिएको गलत अभिव्यक्ति सच्याउन आवश्यक छ । न सभामुखले रुलिङ गर्नुहुन्छ, न सरकार जवाफदेही भएर संसदमा आएर जवाफ दिन्छ ।’

