काठमाडौं । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले बढ्दो साइबर बुलिङप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखसँग महिला सांसदहरू सामान्य रूपमा हाँसेको विषयलाई लिएर सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति आपत्ति जनाइन् ।
उनले भनिन्, ‘देशमा अहिले साइबर बुलिङ भइरहेको छ। ९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर एउटा सामान्य हाँसोको कारणले पनि, हामी सांसद नै लज्जित भएका छौँ । समाज कहाँ जाँदैछ रु ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिसकेको भए पनि नेपालमा इन्धनको मूल्य नघटाइएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
उनले संसद् र राजनीतिक गतिविधिमा दोहोरो मापदण्ड देखिएको आरोप लगाइन्। प्रधानमन्त्री वा मन्त्रीहरूले विवादास्पद अभिव्यक्ति दिँदा समर्थन हुने तर विपक्षीले नियमसम्बन्धी प्रश्न उठाउँदा आलोचना हुने अवस्था देखिएको भन्दै यसलाई सुशासनभन्दा छाडातन्त्र जस्तो भएको टिप्पणी गरिन्।
तर, सांसद बरालले ‘छाडातन्त्र’ शब्द प्रयोग गरेपछि इन्दिरा राना मगरले आपत्ति जनाइन्। उनले उक्त शब्द संसदीय मर्यादाविपरीत भएको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरिन्।

