खानीखोला,काभ्रे । जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ४ स्थित श्री वीर आधारभूत विद्यालय मा विद्यार्थीहरूलाई जिन्सी झोला तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
विहिबार विद्यालयमा एक कार्यक्रम बिच शैक्षिक सामग्री वितरण सम्पन्न गरिएको हो । विद्यार्थीहरूको शैक्षिक आवश्यकता पूरा गर्ने उद्देश्यले विभिन्न देशमा रहनुभएका सहयोगी दाताहरूको सहयोगमार्फत उक्त सामग्री वितरण गरिएको विद्यालय को प्रधानध्यापक भरत लामाले बताए ।
कार्यक्रममा इकमान एन्ड पेमा (हाल अमेरिका) द्वारा विद्यार्थीहरूका लागि ब्याग झोला सहयोग गरिएको थियो । त्यस्तै मदन स्याङ्तन (हाल यूएई) ले कापी, कलम, शिशा, इरेजर तथा ए–फोर पेपर लगायतका शैक्षिक सामग्री सहयोग गर्नुभएको थियो।
त्यसैगरी, २०८२ सालदेखि निरन्तर शैक्षिक सामग्री तथा नगद सहयोग गर्दै आउनुभएका हाल दक्षिण कोरिया लगायत विदेशमा कर्मभूमि बनाइरहनुभएका निर्दोष मोक्तान, सन्जिब बज्यु, बलराम मोक्तान, रामबहादुर बज्यु, रुपबहादुर थिङ (हाल यूके) तथा विद्यालयका पूर्व शिक्षक बिष्णु दाहाललाई विद्यालयको तर्फबाट सम्मानपत्रसहित सम्मान गरिएको छ।
उक्त सम्मानपत्र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थिङ को सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष निशान मोक्तान प्रमुख अतिथि तथा विद्यालय संस्थापक अध्यक्ष वीरबहादुर वाइबा विशिष्ट अतिथिका रूपमा उपस्थित रही वितरण गर्नुभएको थियो।
विद्यालय परिवारले सम्पूर्ण दाताहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा समेत यस्तै सहयोग, सहकार्य र सद्भाव कायम रहने अपेक्षा गरेको छ। साथै, सबै सहयोगी दाताहरूको उत्तरोत्तर प्रगति, सुख, समृद्धि तथा सफलताको हार्दिक शुभकामना व्यक्त गरिएको विद्यालयले जनाएको छ।

