मायालु दोङ, काठमाडौं । तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा निर्माण गरिएको तामाङ कथानक चलचित्र ङिङ्जे प्रदर्शनमा आएको छ । राजधानीस्थित राष्ट्रिय नाचघर जमलमा भएको विशेष प्रदर्शनमा दर्शकको चाप अत्यधिक देखिएको थियो ।
बागमती प्रदेशका खानेपानी ,उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामाले सामाजिक तथा पारिवारिक कथा वस्तुमा आधारित उक्त चलचित्र ङिङ्जेको विशेष च्यारिटी प्रदर्शनको उद्घाटन गर्दै तामाङ चलचित्र क्षेत्रलाई माथी उठाउनका लागि सबै कामहरु बागमती सरकारको तर्फबाट आफुले गर्ने उद्घोष गरे । यस्तै, मन्त्री लामाले आफुलाई काम गर्न रोक्ने प्रयास गरेको समेत बताए । ”म नेपाली कांग्रेस काभ्रेको सभापति र बागमती प्रदेशको खानेपानी मन्त्री भईरहँदा मलाई धेरै एगंलले रोक्ने प्रयास गरेको छ । ” उनले भने- ”धेरै अप्ठ्यारोहरु पार्न खोजिएको छ , धेरै बाटो छेक्ने काम गरेको छ । तर, म आफ्नो बाटोमा क्लिएर छु, मेरो लक्ष्य निश्चित छ । म मा जस्तोसुकै अप्ठ्योलाई साम्य पार्ने क्षमता छ, म नैतिक रुपमा बलियो छु ।”
मन्त्री लामाले समाजलाई तामाङहरुको पहिचान स्थापित गरेर होस् वा राजनितिक, सामाजिक एवं साँस्कृतिक रुपमा हाम्रा अधिकारहरुलाई सुनिश्चित गर्नका निमित्त २०४६ साल पछि अहिलेसम्म धेरै अधिकारहरु पाएको स्मरण गरे । साथै समाजलाई उठाउनका लागि र आफ्नो कला, संस्कृति जोगाउनका लागि कलाकारहरुले खेलेको भुमिका अत्यम्तै महत्वपूर्ण रहेको बताए ।
दर्शकको चाप सुखद देखेपछि निर्माणपक्ष पनि उत्साहित भएको दिेखिन्थ्यो। तामाङ चलचित्रहरुमध्येमा अहिलेसम्मकै दर्शक बढी पाउने तामाङ कथानक चलचित्र ङिङ्जे भएको हामीले सहजै अनुमान गर्न सकिन्छ । साँच्चिकै सन्देश मुलक रहेको चलचित्रलाई दर्शकहरुले धेरै नै राम्रो भनेका छन् । समाजिक विकृति विसंगति बारे व्यंग्यचित्र दृश्य एकदमै महत्त्वपूर्ण रहेको उनीहरु बताउँछन् ।
चलचित्रमा घरका अभिभावकले अपनाउने संस्कार, व्यवहारलगायतले परिवारका सदस्यमा पार्ने प्रभावबारे बुझाउने प्रयास र समग्र समुदायको राम्रो भविष्यका लागि हरेक घरका अभिभावकले सतर्कतापूर्वक राम्रो आचरणको अभ्यास गर्नुपर्ने सन्देश दिएको छ । चलचित्र हेरेर निस्केपछी अधिकांश दर्शकले कलाकारहरुलाई बधाई दिदै यस चलचित्रको कथावस्तु, दिन खोजेको सन्देश मन परेको बताएका छन । चलचित्र हेरेर थुप्रै दर्शकहरुले कलाकारहरुलाई बधाई दिदै चलचित्र धेरै नै राम्रो भएको बताएका थिए।
तामाङ चलचित्रका नायक एवं निर्देशक अमिर दोङले निर्देशन गरेको यस चलचित्रको कथा, पटकथा र संवाद ऋतुराज पाख्रिनले लेखेका हुन् । पेमा लामा योञ्जनको प्रस्तुती ङिङ्जेमा सह निर्देशकको रुपमा कुइसाङ रुम्बा रहेका छन् । विक्रम मोक्तान र त्रिलोक लामाको छायांकन रहेको चलचित्रको सम्पादन विक्रम मोक्तानले गरेका हुन्। च्वइस दोङ र रोशन लामाको संगीत रहेको चलचित्रमा समावेश गीतहरुमा विशाल काल्तान,रोशन लामा,हावा लामा,जितु लोप्चन,निर्मला घिसिङ,रन्जिता घिसिङको स्वर रहेको छ ।
यस चलचित्रमा अमिर दोङ, सुष्मा थिङ, सजिना लोप्चन, कुइसाङ रुम्बा, पदम दोङ, दीपेन्द्र लोप्चन, सोम मोक्तान, राज गोले, रन्जिता स्याङ्तान, अनिता नेगी, मनिका मोक्तान, भुईंसल लामा, माया मोक्तान, दोर्जे मोक्तान, प्रबल थिङ, नोर्साङ दोङ, विशाल थिङलगायतले अभिनय गरेका छन् । यस्तै, दिपेन्द्र लोप्चन र रन्जिता स्याङतान निर्माता तथा प्रविनकुमार तामाङ सहनिर्माता रहेको यस चलचित्रमा राजु तामाङको द्धन्द,कृष्ण ब्लोनको कोरियोग्राफी, रेशम लामाको मेकअप र त्रिलोक लामाको कलरिङ रहेको छ ।
पछिल्लो समय तामाङ चलचित्र जगतमा महानायकको रुपमा चिनिएका निर्देशक अमिर दोङलाई यस चलचित्रमा अहिलेको नयाँ अवतारको रुपमा नयाँ नै गेटअप र लुक्स्मा देख्न पाईएको थियो । ङिङ्जे हेरेर फर्किएका दर्शकहरुले चलचित्रलाई गज्जब भनेपछि निर्देशक दोङले खुशी व्यक्त गरे । चलचित्र करिब ६ बर्ष अघिदेखि नै निर्माण थालिएको भएपनि कोभिड—१९ महामारी लगायतका विविध कारणले रोकिएको थियो । तर, आज ङिङ्जेले दर्शकलाई हलसम्म पनि तान्यो र निर्माताहरूको इच्छा पनि पूरा गरिदिएको छ ।