पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको छ । आफूमाथिका आरोप खानले अस्वीकार गर्दै आएका छन्। उनलाई एक लाख रुपियाँ पनि जरिवाना गरिएको छ।
शनिवार मध्यान्ह १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक सुरु भएको थियो। त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए । अदालतले उनका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो। त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको हो ।
इस्लामावादस्थित एउटा अदालतले राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा उनलाई दोषी पाएको हो ।
न्यायाधीशले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएका छन्। खानका वकिल इन्तजार हुसैनले रोएटर्स समाचार संस्थालाई पूर्व प्रधानमन्त्रीलाई उनको लाहौरस्थित घरबाट नियन्त्रणमा लिइएको बताएका छन् । खानको समूहले उक्त निर्णय विरुद्ध पुनरावेदन गर्ने जनाएको छ।
पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले यो अदालतको सजायसँगै इमरान खान पाँच वर्षसम्म चुनावमा भाग लिन अयोग्य बन्ने बताएका छन् । तोसाखाना एउटा सरकारी विभाग हो। त्यहाँ प्रधानमन्त्री, राष्ट्रपति वा अरू उच्च अधिकारीहरूले कुनै यात्राको दौरान प्राप्त गर्ने महँगा उपहारहरू राख्ने गरिन्छ।
कुनै पनि विदेश यात्राको समयमा विदेश मन्त्रालयका अधिकारीहरूले त्यस्तो उपहारको अभिलेख राख्ने गर्छन्। र यात्राबाट फर्किएपछि तीनलाई तोसाखानामा जम्मा गर्नुपर्ने हुन्छ।
सन् २०२२ को अक्टोबरमा पाकिस्तानको निर्वाचन आयोगले तोशाखाना मुद्दामा पूर्वप्रधानमन्त्री इमरान खानलाई अर्को पाँच वर्षको लागि चुनाव लड्न अयोग्य ठहरायो।
निर्वाचन आयोगले इमरान खानले सत्तामा रहँदा तोशाखानाबाट पाएका उपहारबारे अधिकारीहरूलाई सही जानकारी नदिएको बताएको थियो । इमरान खानले उक्त आरोपको खण्डन गरेका छन्। उनीमाथि प्रधानमन्त्री पदमा रहँदा उनले व्यक्तिगत फाइदाका लागि महँगो उपहार बेचेको आरोप लागेको छ।
खानले निर्वाचन आयोगलाई बुझाएको विवरणमा ती सम्पत्तिबारे उल्लेख गरिएको थिएन। त्यसपछि आयोगले खानलाई प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारहरू बेचेको र उनलाई फौजदारी कानुनमार्फत् सजाय दिनुपर्ने भन्दै जिल्ला अदालतमा उजुरी दिएको थियो।
पाकिस्तानमा सन् १९७४ मा तोशाखाना स्थापना भएको थियो। यो मन्त्रिपरिषद्को प्रशासनिक मातहतको एक विभाग हो जहाँ प्रधानमन्त्री, राष्ट्रपति, राज्य प्रमुख, मन्त्री, सांसद वा अन्य वरिष्ठ अधिकारीहरूले भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राखिन्छन्।
कुनै पनि विदेश यात्राको क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले ती उपहारहरूको अभिलेख राख्छन् र स्वदेश फर्किएपछि तोशाखानामा जम्मा गरिन्छ। तोशाखानामा राखिएका सामानलाई स्मृति चिन्हका रूपमा हेरिन्छ। त्यहाँ राखिएका सामान मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्र बिक्री गर्न मिल्छ।