शनिबार, बैशाख १९, २०८३

क्युआर कोड स्क्यान गरी पर्यटकले गोदावरीका सबै जानकारी लिन सक्ने

गोदावरी । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले अति सम्भावना बोकेको ललितपूर जिल्लाको गोदावरी पर्यटकहरुको पहिलो रोजाईमा पर्ने गरेको छ । प्राकृतिक, सांकृतिक र जैविक विविधताले भरिपूर्ण सुन्दर गोदावरी नगरपालिकाको वडा नम्बर तीनलाई देशभरीकै नमुना वडा बनाउनका लागि प्रशस्त आधारहरु रहेको वडाध्यक्ष सानुराजा घिमिरे बताउँछन् ।

आफ्नो वडालाई अझै सहज ,आकर्षक र देशकै नम्बर एक पर्यटकीय वडा बनाउने उद्देश्य अनुरुप करिव तिन महिना लामो अनुसन्धान पश्चात पर्यटकहरुको सुविधाका लागि गोदावरीमा वडाध्यक्ष घिमिरिले क्यु.आर.स्क्यान बोर्ड सेवाको उद्घाटन गरेका हुन् । यो सेवा संचालनमा आएपछि गोदावरीमा आउने पर्यटकहरुले क्यु.आर बाटै वडामा रहेका मठ, मन्दिर, विद्यालय, कलेज, रास्टिय वनस्पति उद्यान, हर्बेरियम , माछा पालन , माहुरी पालन ,गोदावरी कुन्ड ,नौधारा, फुल्चोकि , होटल रेस्टुरेन्टहरु , जिमहलहरु , मार्वल डाडा लगायत पर्यटकीय स्थानहरुको परिचय र महत्त्वका विषयमा अडियो, भिडियोका साथै नेपाली र अग्रेजी दुबै माध्यममा सुन्न, हेर्न र बुझ्न सक्नेछन् । अडियो, भिडियो,फोटो र ती ठाउँहरुको छोटो लिखित जानकारी सहितको क्युआर स्क्यान वोर्ड वडाका पोल र चोकमा राखिएको वडा कार्यालयले जनाएको छ ।

गोदावरी बसपार्कको सिसि क्यामेराले देख्ने ठाउँमा प्रहरी प्रशासनलाईसमेत जानकारी गरी उक्त क्यु.आर.स्क्यान बोर्ड सेवा सञ्चालन गरिएको वडाध्यक्ष घिमिरेले बताए । अब गोदावरी वडा नम्बर तीनका बारेमा देश तथा बिदेशका जुन सुकै कुनाबाट बुझ्न ,सुन्न , हेर्न सुरु भएकाले थप पर्यटन प्रवर्द्धन हुनेमा वडाध्यक्ष घिमिरे विश्वस्त छन् । विद्युतीय माध्यमबाट सेवा दिँदा सुशासन प्रवद्र्धन हुने उनको तर्क छ ।

‘सूचना लिन कार्यालय आउनुपर्दैन, विश्वको कुनै पनि कुनाबाट वडाको सूचना सबैले सहजै पाउने छन्,’ वडाध्यक्ष घिमिरेले भने, ‘धेरैलाई एउटै सूचना पटकपटक दिनु नपर्ने हुँदा कार्यभार मात्र घटेर गएको छैन कर्मचारीलाई पनि काम गर्न सजिलो भएको छ । वडा भित्रका पर्यटकीय स्थलहरुको सूचना क्यु.आर.स्क्यान बाटै हेर्न मिलेपछि सेवाग्राही पनि निकै खुशी छन् । सूचना लिने र दिने दुवैलाई सजिलो भएको छ ।’

अबको दुनियाँ डिजिटल प्रविधिमा अगाडी बढेकाले यसबाट सबैलाई सहजता हुनेछ । डिजिटल प्रविधिको उपयोगबाट पर्यटन प्रबद्र्धनमा वृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयामको रूपान्तरण गरी आधुनिकीकरण गर्ने लक्ष्य वडाको रहेको छ । गोदावरी भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई वडाबारे सहजै जानकारी, गुगल म्यापसहित थप जानकारी दिने उद्देश्यले क्युआर स्क्यान बोर्ड राखिएको वडाध्यक्ष घिमिरेको भनाई छ ।

सुन्दर शान्त आकर्षक गोदावरी ३ मा आउने पर्यटनहरुलाई स्वागतका साथै धन्यवाद व्यक्त गर्दै उनले वडामा थप अन्य आकर्षक ठुला ठुला पर्यटकिय गन्तव्यहरु समेत थपिदै गरेको जानकारी गराए । आगामी दिनमा बस व्यवसायी संघसंग सल्लाह गरि पर्यटकहरुलाई थप बसहरुको व्यवस्था गर्ने वडाध्यक्ष घिमिरेले बताए ।