काठमाडौँ । ठमेल पर्यटन बिकास परिषद्को आगामी असार ३२ गते हुनगैरहेको निर्वाचनमा ध्रुव अधिकारी समूहले उम्मेद्वारी घोषणा गरेको छ।
अनुभवी र जिम्मेवार नेतृत्व आजको आवश्यकता, सफा सुन्दर र सुरक्षित ठमेल हाम्रो प्रतिबद्धता ’को नारासहित ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) निर्वाचन–२०७९ को लागि ध्रुव अधिकारी समावेशी समूहले होटेल यात्रीमा औपचारिक कार्यक्रम गरेर आफ्नो उम्मेद्वारी घोषणा गरेको हो ।
अध्यक्षमा ध्रुव अधिकारी, उपाध्यक्षमा राजु मान डङ्गोल र महासचिवमा राजीव पाण्डेले उम्मेद्वारी घोषणा गरेका हुन। बाँकी पदमा चाँडै उम्मेद्वार तय गरी घोषणा गरिने अध्यक्ष पदका उम्मेद्वार ध्रुव अधिकारीले जानकारी दिए ।
कार्यक्रममा आफ्नो मन्तव्य दिँदै ठमेल भन्ने बित्तिकै जुन गलत खाले म्यासेज बाहिर आएको छ त्यो भ्रमलाई गलत साबित गर्न ठमेल लाई व्यवस्थित गर्न कदम चाल्ने अधिकारीले बताए ।
त्यस्तै उपाध्यक्ष पदका उम्मेदवार राजु मान डङ्गोलले ठमेलको उज्ज्वल भविष्यका लागि रातदिन नभनी काम गर्ने बताए। लामो समयदेखि ठमेलको नजिक रहेर काम गरेको र यहाँका समस्याबाट परिचित भएकोले व्यवसायीको हकहितको लागि काम गर्न सक्ने क्षमता आफूमा रहेको समेत उनले बताए।
कार्यक्रममा बोल्दै महासचिव पदका उम्मेदवार राजीव पाण्डेले आफ्ना एजेन्डा नै व्यवसायी र घरबेटीका समस्या रहेको र त्यसलाई समाधान गर्नु रहेको बताए। उनले भने ” मेरा एजेन्डा नै व्यवसायीका समस्या हुन , घरबेटीका समस्या हुन र समग्र ठमेलका समस्या हुन ।
कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष डा.राम शरण थपलिया , समीर गुरुङ ,वडाध्यक्ष, व्यवसायी , घरबेटी , पत्रकार , लगायतको उपस्थिति रहेको थियो।

