टोकियो । जापानमा अघिल्लो वर्षको तुलनामा बाल दुर्व्यवहारका घटनाहरूमा वृद्धि भै सन २०२१ मा दुई हजार १७० अर्थात् १.७ प्रतिशतले वृद्धि हुन पुगेका छन ।
एनपीएको प्रारम्भिक रिपोर्ट अनुसार राष्ट्रव्यापी रूपमा १८ वर्षमुनिका बालबालिकाहरूले वा उनीहरूका अभिभावकले दुर्व्यवहारमा परेको भन्दै बाल कल्याण केन्द्रहरूलाई सूचना दिएपछि कूल एक लाख आठ हजार ५० मुद्दा दर्ता गरिएको थियो ।
अघिल्लो वर्ष पनि यो सङ्ख्या एक लाखभन्दा बढी रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १.० प्रतिशत उजुरी बढेको पाइएको छ ।
कोरोना महामारीले असुरक्षित नाबालिगहरूको सुरक्षा गर्न कल्याणकारी सुरक्षा अधिकारीहरूलाई क्रियाशील बनाईएको प्रहरीको राष्ट्रिय निकाय (एनपीए)ले सार्वजनिक गरेको रिपोर्टमा जनाएको छ ।एनपीएका अधिकारीले भने, ‘कोरोनाभाइरस महामारीले बालबालिकामाथि निगरानी राख्ने, अवसरहरूलाई सीमित गर्ने डर छ, त्यसैले हामी दुर्व्यवहार पत्ता लगाउन सम्भव भएसम्म निगरानी गरिरहनेछौँ ।’
जापानमा समग्र अपराधको सङ्ख्या पाँच लाख ६८ हजार १४८ रेकर्ड गरिएको छ । यो सङ्ख्या लगातार सातौँ वर्षसम्म निरन्तर घटिरहेको एनपीएले बताएको छ । हत्या र डकैतीजस्ता गम्भीर अपराधहरू १.३ प्रतिशतबाट घटेर आठ हजार ८२३ भए तापनि अपहरणका घटनाहरूमा १५.४ प्रतिशतले कमी आई ३८९ कायम भएको उक्त रिपोर्टले देखाएको छ ।
एनपीएले कूल ८३ हजार ०३५ घरेलु हिंसा रेकर्ड गरिएको र परामर्श भएको कुरा पनि बताएको छ । नाबालिगलगायत झन्डै २० हजार अनलाइन परामर्शहरूमा सहभागिता जनाएको तथ्याङ्कले देखाएको छ ।

