आइतबार, बैशाख २०, २०८३

१४ वर्षदेखि बन्द नेपाल एयरलाईन्सको काठमाडौं–रामेछाप उडान पुनः संचालन हुने

रामेछाप । नेपाल वायु सेवा निगमको काठमाडौं–रामेछाप उडान पुनः संचालन हुने भएको छ । १४ वर्षदेखि बन्द नेपाल एयरलाईन्सको काठमाडौं–रामेछाप उडान पुनः संचालन हुने भएको हो । रहेको २०३५ देखि २०६४ सम्म निगमले काठमाडौं–रामेछाप नियमित उडान गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले रामेछापमा आयोजित एक कार्यक्रममा बन्द रहेको सेवा संचालनमा ल्याइने बताएका हुन् । उनले रामेछाप लगायत विमानस्थलमा सरकारको ठूलो लगानी रहेको भन्दै त्यसको सदुपयोग गर्दै नागरिकको सुविधामा हवाई सेवा संचालन गरिने बताए ।

रामेछापको खाँडादेवी गाउँपालिकामा पर्ने गाल्वा बजारमा मंगलबार आयोजित नेकपा एकीकृत समाजवादीको सभालाई सम्बोधन गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् । उनका अनुसार नेपाल वायु सेवा निगममा रहेका सबै विमानहरूलाई यथोचित मर्मत सम्भार गरी संचालनमा ल्याउने निर्णय भएको छ ।

निगमको स्वामित्वमा रहेका चिनियाँ विमान करिब १ वर्षदेखि थन्क्याएर राखिएको छ । संचालन खर्च धेरै भएकाले निगमले ती विमान बन्द गरेको जनाएको थियो । आले मन्त्री भएपछि उक्त निर्णय हालै उल्टाइएको हो। आलेले आफू मन्त्री भएपछि हवाई क्षेत्रमा उल्लेख्य सुधारको काम थालनी गरेको भन्दै नागरिकको सेवाका लागि धेरै सुधारका काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य देवशंकर पौडेल र जिल्ला नेता होम बुढाथोकी लगायतले रामेछाप विमानस्थल संचालन र पर्यटन पूर्वाधारको निर्माण कार्यका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।