शुक्रबार, बैशाख ०७, २०८१

आगोसँग खेल्दा बालुवाटारबाट बालकोट जानुपर्यो, त्यसकारण छाड्ने कुरा छैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिका लागि फेरि पनि लडाइँ लड्नुपर्ने अवस्था आएको बताएका छन् ।

बिहीबार अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू समाजवादी क्रान्तिमा होमिएको बताएका हुन् । उनले भने, ‘समाजवादी क्रान्तिका लागि राम्रो छलाङ हान्नुपर्ने स्थिति छ । म त होमिएँ । तपाइँहरु के गर्ने ? म अन्तिम लडाइँ लड्छु । एकपटक फेरि हामी जाग्नु पर्यो । यो परिवर्तन हामीले ल्याएको भनेर जनतासमक्ष भन्नुपर्यो । प्रतिगामीहरुको सातो जाने गरी भन्नु पर्यो ।’ उनले त्यसका लागि हामी सबैले आफूहरुबाटै सच्चिने प्रण गर्नुपर्ने बताए । उनले पार्टीका नेताहरुको क्रान्तिकारी चरित्र स्खलित हुँदै गएकाले त्यसलाई सुधार गर्न आग्रह गरे । उनले भने, ‘अहिले हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छ । हाम्रो क्रान्तिकारी कार्यशैलीमा स्खलन भएको छ। हामी विस्तारै विस्तारै जनयुद्ध र जनआन्दोलनलाई भुल्दैछौँ । त्यसलाई सुधार गर्नुपर्छ।’

उनले बुर्जुवा निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताए । उनले भने, ‘यो बुर्जुवा निर्वाचन प्रणाली खारेज गर्नुपर्छ । यो निर्वाचन प्रणालीमा हामीहरु चुनाव लड्ने अवस्था छैन । अध्यक्षको त झन् हाल खराव हुन्छ । सवै अध्यक्षसँग पैसा माग्छन् । केन्द्रमा लड्न आठ दश करोड लाग्छ यदि यसरी लड्ने हो भने । मेरो भूमिका दलाल पूँजीपतिसँग माग्न जानुपर्ने हुन्छ । २०६४ हामीले आफैं जितेका थियौं पैसा नै खर्च नगरी । पैसा पनि बढी भयो त्यतिबेलाको । पूर्णसमानुपातिक निर्वाचन प्रणाली चाहियो भनेर आन्दोलन गरौं हामी जित्छौं । हतियार उठाउनुपनि पर्दैन ज्यान पनि जाँदैन । यसका लागि लाखौं जनतलाई सडक ल्याइदियो सकिहाल्यो ।’उनले प्रतिक्रियावादीहरुलाई हेप्नुपर्ने बताए । उनले भने, ‘प्रतिक्रियावादीलाई हेप्ने हो तर जनतालाई र क्रान्तिकारी हेप्न पाइन्न । आगोसँग खेल्ने भनेको बालुवाटारबाट बालकोट जानुपर्यो । त्यसकारण छाड्ने कुरा छैन । जनविरोधीलाई छाड्ने होइन ।’

उनले पदका मरिहत्ते नगर्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने,‘जसलाई मैले धेरै मन्त्री बनाएँ ती पतन भए । हिजो क्रान्तिमा बलिदान गर्ने त्याग गर्न प्रतिस्पर्धा गर्ने हामी अहिले पद पाइएन भनेर पैसा पाइएन भनेर रुने भयौं । हामीले थाहै नपाइ क्रान्तिकारी विरासत गुमाउन थाल्यौं । यो हजारौंको आवाज हो लाखौंको आवाज हो यो ।’

उनले पुस पाँचको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरे । उनले भने, ‘केपी ओलीबाट प्रतिक्रान्ति गर्ने प्रयास भयो । त्यसकाविरुद्ध हामी नै हौं लाग्ने । माओवादीलाई सफाइ गर्ने योजना थियो । प्रतिनिधिसभा विघटनमात्र थिएन । परिवर्तनलाई उल्टाउने योजना थियो । प्रतिक्रियावादीले घेराहाल्ने र सिध्याउने रणनीति थियो तर हामीले प्रतिरोध गर्यौं र हामी विजयी पनि भयौं । मैले कि सकिन भनेर आत्महत्या गर्नुपर्यो या त लड्नुपर्ने भयो । पार्टीभित्र पनि र पार्टी बाहिर पनि । हामी फेरि पनि लड्ने क्रान्तिकारी तरिकाले । जेल जान परेपनि तयार हुने र मर्न पनि तयार हुने भनेर प्रतिवाद गर्यौं । हामीले मृत्युवरण गर्ने, जेल जाने तर प्रतिगमनका अघि नझुक्ने भनेर अघि बढेको हो । हेडक्वार्टरमा १९ पन्ने लेखेर बम हानेकै हो नि । सुरुमा जनताले साथ दिन्छन् कि दिन्नन् भन्ने लागेको थियो । अरु जस्तै क्रान्तिकारी नेता अवसरवादी भएर मरियो भनेर बर्बाद हुन्छ भनेर सडकमा आएको हो । जनताले साथ दिए र फेरि पनि दिन्छन्।’

उनले नेकपा एमालेका दश भाइ प्रति कटाक्ष गरे । उनले भने, ‘एमालेका दश भाइ छन् नि अहिले त लुत्रुक्क परेर ओलीकोमा गए । उनीहरुलाई ओलीले पटक पटक कारबाही गरेकै हुन् नि । अनि अहिले प्रचण्डले पार्टी फुटाउन लाग्ने भनेर भनेछन् विचराहरु !’