बिहिबार, बैशाख ०६, २०८१

रातो मत्स्येन्द्रनाथको सांकेतिक रथयात्रा

काठमाडौं । शनिबार ललितपुरमा रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने भएको छ । कोरोना महामारीका कारण यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गर्न लागिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए ।
शनिबार करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर त्यहीँ विसर्जन गर्ने तयारी गरिएको महर्जनले जानकारी दिए ।रथयात्रा साढे २ बजे ललितपुरको पुल्चोकमा हुने छ । रथयात्राको बारेमा बुधबार बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई मध्यनजर राख्दै न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक रुपमा रथ तान्ने निर्णय गरेको थियो ।अघिल्लो वर्ष कोरोना महामारीका कारण समयमा रथयात्रा हुन सकेको थिएन ।
ढिला गरी भएको रथयात्राको क्रममा स्थानीय प्रशासन र स्थानीयबीच झडप समेत भएको थियो । तर यो वर्ष समयमा नै सरोकारवाला पक्षसँगको छलफलपछि रथयात्राको मिति तय भएकोले कुनै समस्या नभएको अध्यक्ष महर्जनले जानकारी दिए । वैशाख पूर्णिमाको भोलिपल्ट हुने महास्नानसँगै सुरु भएको यो असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । करिब एक हजार ६०० वर्ष पुरानो मानिन्छ ।
दुई सातादेखि रथ निर्माण थाली विभिन्न प्रक्रिया र धार्मिक विधिसँगै क्षमापूजा गर्ने र रथारोहण सकिएपछि अक्षयतृतीयाका दिन मृतकहरूका आत्माले सजिलै वैतरणी नदी तरुन् भन्ने कामना गर्दै मत्स्येन्द्रनाथको रथ अगाडि गाई दान गरिने गरिने परम्परा छ ।