मङ्गलबार, जेठ २६, २०८३

काभ्रेकी सफलता थिङ बनिन् मिस तामाङ २०२१ को बिजेता

काठमाडौं । मिस तामाङ २०२१ को बिजेता काभ्रेकी सफलता थिङ तामाङ भएकी छन् । सौन्दर्य प्रतियोगिता मिस तामाङ २०२१ को २४ प्रतियोगीमध्येबाट उनी विजेता बन्न सफल भएकी हुन् ।
उनले मिस मल्टिमिडिया, मिस इन्टिलेक्च्युल र मस्ट पपुलर ग्लोबल अनलाइन पे टाइटल पनि हात पारेकी हुन् ।

विजेताले एक लाख रुपैयाँ, २० हजार गिफ्ट ह्याम्पर, क्राउन प्राप्त गरेकी छन् । उपाधि विजेता थिङलाई अघिल्लो बर्षकी मिस तामाङले ताज पहिरिदिएकी छन् ।

त्यस्तै गरेर फस्ट रनरअफ पेमा पाख्रिन र सेकेन्ड रनरअफ सोनिया वाइबा भएका छन् । उनीहरूले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँ प्राप्त गरिन् ।

निर्णायक मण्डलले टप ५ मा सफलता थिङ, पेमा पाख्रिन, रोशनी रुम्बा तामाङ, सिसम दोङ लामा, सोनिया वाइबा छानिएको थियो ।

निर्णायक मण्डलहरूमा संगीतकार प्रदिप बमजन, डा. छिरिङ योञ्जन, नवाङ मोक्तान, वर्षा लेखी रहेको थियो । निर्णायक मण्डलका प्रदिप बमजनले ‘मिस तामाङ भएमा समाजको लागि ३ वटा कार्य के-के गर्नुहुन्छ ? किन गर्नु हुन्छ ?’ भन्ने प्रश्न गरेका थिए ।

विजेता थिङले उत्तर यसरी दिइएकी थिइन्, ‘सर्वप्रथम आफ्नो भाषा, संस्कृति, भेषभुषालाई जोगाउनका लागि हरदम तत्पर रहनेछु, किन की मिस तामाङ प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य भनेकै यही नै हो । हाम्रो पहिचान जोगाउन नै । म हरेक नारी लगायत मलाई देख्ने, सुन्ने, भेट्ने सम्पूर्णको लागि प्रेरणाको स्रोत बन्न चाहन्छु । किन की कतिपय व्यक्तिहरूमा प्रतिभा भएता पनि प्रेरणा वा साहस नभएका कारण आगाडी बढेका छैनन् । म न्याय स्थापनाका लागि उदाहरणीय योगदान प्रदान गर्नका लागि, कानुनी ज्ञान समुदायका हरेक कुनाकाप्चामा प्रदान गर्न चाहन्छु, किन की मेरो लक्ष्य नै यही हो ।’ उनले निर्धारित तीन मिनेटको समयमा लेखेर वाचन गरेकी थिइन् ।

प्रतियोगी सिसम दोङ लामा मिस पर्सनालिटी भएकी छिन् । फोटोजेनिकमा सनिता तितुङ तामाङ, भ्युवर च्याइसमा पेमा पाख्रिन तामाङ, मिस फ्रेण्डली सुस्मा घिसिङ तामाङ र मिस कन्फिडेन्स सुजाता तितुङ तामाङ भएकी छिन् ।

प्रतियोगिताको ग्लोबल अनलाइन निशा घिसिङ, पेमा पाख्रिन, रिमा, सफलता र सोनिया वाइबाले जितेकी थिइन् । एम डी ग्रुपको प्रस्तुतिमा भएको १३औँ संस्करणको प्रतियोगिता मम्स् इन्टरनेशनल नेपालको आयोजनामा सम्पन्न भएको छ ।