शुक्रबार, चैत १६, २०८०

अधिकारवादी, लेखक र पत्रकारले बुझिदिए हिंसा कम गर्न सहयोग पुग्थ्यो कि ?

डा. अरुणा उप्रेती ।
म अहिले सुदुर अछाममा छु । अछाममा महिनावारी हुँदा ’छाउपडी’मा राख्ने प्रचलन छ, आछाममा । त्यहाँ छाउपडीमा नराखे अनेक व्यवधान हुन्छ, घरमा मानिस बिरामी हुन्छन् भन्ने अन्धविश्वासले गर्दा महिलाहरू डराएर जबर्जस्ती छोरी–बुहारीलाई छाउपडीमा पठाउँछन् । आफैं पनि बस्छन् । त्यसरी नपठाए धामीहरूले घरका वृद्घ महिलाहरूलाई अनेक कुरा भन्छन् । त्यो भनाइ खाने डरले र समाजबाट बहिस्कृत हुनुपर्ला भन्ने डरले पुरुषले पनि महिलाहरूलाई लान्छन्, लगाउँछन्, अपमान गर्छन् । समाजबाट बहिष्कार गर्छन् । नजानिँदो तरिकाले दबाब दिन्छन्, अनि विवश भएर महिलाहरूले नराम्रो संस्कृतिको बोझ बोक्नुपर्छ ।

यसरी संस्कृतिको बोझमा परेर महिलाहरू विवश भएर आफ्ना छोरीहरूलाई छाउपडीमा पठाउँछन् भने के त्यो महिलाहरूले गरेको हिंसा हो कि सामाजिक र धार्मिक कारणले भएको हो ?

त्यसैगरी अहिले गर्भमा रहेको भ्रुण छोरी हो भन्ने थाहा पाएपछि महिलालाई त्यो गर्भपतन गर्न विवश गराइन्छ । महिलाले पनि घरपरिवार र समाजको दबाबमा आएर गर्भपतन गराउन पनि मञ्जुरी दिन्छिन् । यसलाई ’महिला भएर पनि छोरी जन्माउन नचाहेको र छोरीमाथि हिंसा गरेको’ भन्ने कि सामाजिक रूपमा अवहेलित भएको हुनसक्ने डरले महिलाले गर्भपतन गराउँछिन् , त्यसरी गर्भपतन गराउनु त्यो उनको विवशता होइन र ?

आधा शताब्दीअघि भारतको राजस्थानमा सुडेनीहरूले छोरी जन्मिने बित्तिकै अफिम ख्वाएर वा तकियाले मुख छोपेर वा बालुवामा गाडेर मारिदिन्थे । यसको लागि सुडेनीलाई महिला भएर पनि महिला मारेको भनेर भन्ने कि त्यो बेलाको सामाजिक कारणले र महिलाहरूप्रति गरिने विभेदले गर्दा सुडेनीहरूलाई छोरी मार्न विवश गराइएको भन्ने ?

त्यसैगरी जब नेपालका विभिन्न भागमा रहेका खराब संस्कृतिको बारेमा छलफल हुन्छ, तब यस्ता संस्कृतिले महिलाहरूलाई हिंसा गर्छन्, तर” महिलाहरूले नै यस्तो संस्कृतिलाई बढावा दिन्छन् त्यसैले महिलाहरू नै दोषी छन् “भनिन्छ । महिलाले महिलाको हिंसा गर्छन् भन्नुको अर्थ सामाजिक समस्याहरूको जरो नबुझेको हो भन्ने स्पष्ट हुन्छ ।

महिलाहरू मानिस हुन् र उनीहरू जुन सिक्छन्, त्यही कुरा उनीहरूले समाजलाई दिन्छन् । महिलाहरूले महिलालाई हिंसा गर्छन् भन्दा हामीले जुन तर्क दिन्छौं, त्यही तर्क पुरुषको विषयमा लागु गर्दैनौं । महिलाले पुरुषलाई, पुरुषले महिलालाई, महिलाले महिलालाई जसले जसलाई हिंसा गरे पनि मान्छेले मान्छेलाई हिंसा गरेको हो । हिंसा जसले जसलाई गरे पनि यो मानव विरोधी काम हो भन्ने कुरा बुझ्न हामीलाई किन गाह्रो भएको ?

घरजग्गाका लागि दाजु–भाइको झगडा भएर काटामार हुँदा त्यो केवल सम्पत्तिको विवाद बन्छ, तर यदि सम्पत्तिको लागि दिदी–बहिनीमा वा जेठानी–देउरानीको विवाद भयो भने त्यो महिलाले महिलासँग गरेको झगडा बन्छ । समस्या एउटै तर शब्दहरू भिन्नै तरिकाले प्रयोग गर्ने बानी किन ?

महिलाका समस्या वा दलितका समस्यालाई मानवीय समस्या हो र सामाजिक र कानुनी रूपमा समाधान गर्नैपर्छ भन्ने आवाज नउठुन्जेलसम्म महिलाप्रति वा पुरुषप्रति हुने हिंसा न्युनीकरण गर्न सकिँदैन भन्ने कुरा हामी अधिकारवादी, लेखक, तालिमकर्ता, पत्रकारले बुझिदिए त हिंसालाई कम गर्न सहयोग पुग्थ्यो होला नि ?