काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो सम्पत्ति विवरण मागेकोप्रति आक्रोश पोखेका छन् । काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा अध्यक्ष ओलीले आफ्नो सम्पत्ति विवरण मागेकोप्रति आक्रोश पोखेका हुन् ।
उनले भदौ २४ मा आफ्नो जलाएर खरानी बनाएपछि सम्पत्ति विवरण मागेको भन्दै आक्रोश पोखेका हुन् । उनले भने, ‘उनीहरूले मेरो पनि सम्पत्ति विवरण मागेका छन् । मेरो घर भदौ २४ गते आगो लगाइयो। मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार!’
उनले भदौ २३ र २४ गतेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति असहमति जनाएका छन् । उनल राष्ट्रपति पौडेल सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप लगाए ।
अध्यक्ष ओलीले राष्ट्रपतिले धमाधम गर्न नहुने काम गर्दै गएको बताए । उनले भने, ‘प्रधानमन्त्री बन्न संविधान चाहिएन। संविधान विपरीत प्रतिनिधिसभा भंग हुन्छ। अनि सम्मानीत राष्ट्रपतिजी बडो जुक्तिले लोकतन्त्र बचाएँ भन्नुहुन्छ । अहिलेसम्म आइपुग्दा राष्ट्रपतिजी रबरस्ट्याम्प बनेर जुन चिज गर्न नपर्ने हो संविधानको रक्षक र पालकको हैसियतमा। त्यो नगरेर जुन चिज नगर्न पर्ने हो त्यो गरेर जे मा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यू गरिरहनुभएको छ।’

