काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रश्न उठाउँदै दाबीको प्रमाण सार्वजनिक गर्न वा माफी माग्नुपर्ने माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले नेपालले भारतको जग्गा मिचेको भन्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट प्रमाणसहित पुष्टि गर्नुपर्ने बताए। उनले यस्तो संवेदनशील विषयमा सरकार जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै आवेगमा दिएको अभिव्यक्ति भए सार्वजनिक रूपमा माफी माग्नुपर्ने धारणा राखे।
उनले भने,‘नेपालले भारतको जग्गा कहाँ मिचेको रहेछ ?त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गर्नुपर्छ । सरकारलाई गल्ती गर्ने कुनै छुट हुँदैन । त्यसैले ऊ सरकार हो । उहाँले यदि आवेगमा आएर त्यो कुरा राखेको हो भने तीन करोड जनताको अगाडि माफी माग्नुपर्छ ।’
उनले देशका विषयमा पार्टी, जाति, धर्म र सत्ता–प्रतिपक्ष केही पनि नहुने बताए । उनले भने, ‘हामी सबै नेपाली, हामी सबैको नेपाल । पार्टी, जाति, धर्म वर्गभन्दा माथि हुन्छ देश । त्यसकारण यहाँ सत्तापक्ष र विपक्ष, प्रतिपक्ष भन्ने छैन । देशको सिमाना, देशको अखण्डता, देशको सार्वभौमसत्ता जोगाउने हो, यसमा हामी सबै सांसदहरूको एउटै माग हुन जरुरी छ ।’
त्यस्तै उनले संसदमा प्रधानमन्त्री बालेन साहको हाजिरी खोजी गरेका छन् । उनले प्रतिनिधिसभा नियमावलीको नियम ४ मा सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनु पर्ने व्यवस्था रहेको भन्दै प्रधानमन्त्रीले हाजिरी गरे नगरेको जानकारी गराउन माग गरे ।
उनले भने, ‘प्रधानमन्त्रीज्यू यहाँ आउँदाखेरि हाजिर गर्नुभएको छ कि छैन ? यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ । प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा प्रधनमन्त्री पद स्वतः रद्द हुन्छ ।’

