शुक्रबार, चैत १६, २०८०

भूकम्पमा परी इन्डोनेसियामा कम्तिमा ३४ जनाको मृत्यु

इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको छ । भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किएका छन् ।

बिहान सबेरै आएको यस भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति घाइते भएका जनाइएको छ । यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो । सुलावेसी द्वीपको मामुजु शरहमा मात्र यस भूकम्पको कारण २६ जनाको मृत्यु भएको यहाँको प्रकोप नियन्त्रण विभागका प्रमुख अलि रहमानले बताएका छन् ।

भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरु पुरिएका अनुमान गरिएको छ । त्यसैगरी मामुजु शहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्रमा भूकम्पको कारण आठ जनाको मृत्यु भएको छ । दुबैतर्फ गरी ३४ जनाको मृत्यु भएको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले जानकारी दिएका छन् । उद्धारकर्ताहरुले मामुजु अस्पतालको भग्नावशेषमा उद्धारकार्य जारी राखेका बताइएको छ ।

यस अस्पतालको भग्नावशेषमा बिरामी र अपस्पालका कर्मचारी गरी करिब दश जना पुरिएका अनुमान गरिएको छ । सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेरियाली नागरिक रहेका थिए ।