शुक्रबार, बैशाख ०७, २०८१

के भारतीय खोप उत्पादकहरूले कोभिड-१९ खोपको माग पूरा गर्न सक्लान् ?

विश्वको ६० प्रतिशत खोप उत्पादन गर्ने भारत कोरोनाभाइरसबाट विश्वमा सबैभन्दा अतिप्रभावित देशमा अमेरिकापछि दोस्रो स्थानमा छ । ठूलो उत्पादक भएकाले भारतले आफूलाई आवश्यक पर्ने खोप मात्र नभई विश्वव्यापी आपूर्तिमा आफ्नो प्रतिबद्धता पनि पूरा गर्नुपर्छ । त्यसोभए के उसले त्यो माग पूरा गर्नसक्छ त ?

भारतको खोप उत्पादन क्षमता कति ?
अहिले भारतमा दुईवटा खोपलाई अनुमति दिइएको छ। ती खोप कोभिशील्ड (यूकेमा विकास गरिएको अक्सफर्ड–एस्ट्राजेने खोपको स्थानीय नाम) र कोभ्याक्सीन हुन् । भारतमा परीक्षणमा रहेका अन्य खोप पनि उत्पादन गरिँदैछ । केही महिनाअघि भारतीय औषधि उत्पादक कम्पनीहरूले उत्पादनलाई तीव्रता दिने खबरहरू आएका थिए । सबैभन्दा ठूलो उत्पादक सीरम इन्स्टिट्यूट अफ इन्डिया (एसआईआई) ले आफूले प्रत्येक महिना छ करोडदेखि सात करोड मात्रा खोप उत्पादन गर्न सक्ने बताएको छ । भारत बायोटेक कम्पनीले एक वर्षमा २० करोड खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ। तर उक्त कम्पनीसँग अहिले दुई करोड मात्रा कोभ्याक्सीन मात्र उपलब्ध छ । परीक्षणमा रहेका अन्य उत्पादक कम्पनीहरू खोप उत्पादनपछिको आपूर्तिबारे भारतीय अधिकारी र अन्य देशहरूसँग वार्तामा छन् । तर अहिलेसम्म खोपको मात्राबारे निकै कम जानकारी उपलब्ध छ ।
भारतलाई कति खोप चाहिन्छ?
भारत सरकारले भाइरससँग सङ्घर्ष गर्ने प्रारम्भिक योजनाको अङ्गको रूपमा जुलाई महिनाको अन्त्यसम्ममा प्राथमिकताको सूचीमा रहेका ३० करोड मानिसलाई खोप दिने जनाएको छ । जनवरी १६ तारिखबाट खोप दिन सुरु गरिनेछ। त्यसमा स्वास्थ्य कार्यकर्ता र अग्रभागमा खटिने मानिसहरूलाई प्राथमिकता दिइनेछ । सात महिनाभित्र ६० करोड मानिसलाई खोप दिने भारतको लक्ष्य छ । अहिलेसम्म एसआईआईले पाँच करोड खोप उत्पादनको तयारीमा रहेको जनाएको छ । कम्पनीले कति मात्रामा निर्यात गर्ने र कति घरेलु प्रयोगको निम्ति राख्ने भन्ने विषयमा अझै काम भइरहेको छ ।

विश्वव्यापी मागमा भारतको भूमिका कस्तो ?
भारतको एसआईआई पनि डब्ल्यूएचओद्वारा सहयोग प्राप्त कोभ्याक्स भनिने अन्तर्राष्ट्रिय योजनाको एउटा अङ्ग हो। त्यसअन्तर्गत न्यून र मध्यम आय भएका देशको खोपमा पहुँच स्थापित गर्न उनीहरूलाई सघाउने भनिएको छ । गत सेप्टेम्बर महिनामा एसआईआईले यो वर्ष उक्त योजनाअन्तर्गत अक्सफर्ड–एस्ट्राजेनेका वा अमेरिकामा विकसित नोभाभ्याक्स खोपको २० करोड मात्रा आपूर्ति गर्ने सहमति जनाएको थियो । एसआईआईका प्रमुख कार्यकारी अदार पूनावालाले बीबीसीलाई दिएको जानकारी अनुसार कोभ्याक्स सम्झौताअन्तर्गत थप ९० करोड खोप बढाइने सम्भावना छ । त्यसपछि एसआईआईले उक्त योजनाअन्तर्गत एक अर्ब खोप आपूर्ति गर्नुपर्ने प्रतिबद्धता हुनेछ । उक्त कम्पनीले यो वर्षको मार्चबाट प्रत्येक महिना एक करोड खोप उत्पादन गर्ने लक्ष्य राखिएको जनाएको छ ।
भारतीय कम्पनीका अन्य प्रतिबद्धता के छन् ?
कोभ्याक्स योजनाबाहेक एसआईआईले अक्सफर्ड–एस्ट्राजेनेका खोप आपूर्ति गर्न अन्य देशहरूसँग व्यावसायिक सम्झौता गरेको छ । तर एसआईआईका प्रमुख पूनावालाले यो महिनाको सुरुमा निर्यात नगर्ने सर्तमा खोपले अनुमति पाएको बताएपछि त्यसबारे भ्रम उत्पन्न भएको थियो । प्रारम्भिक रूपमा तीन करोड खोप लिने सम्झौता गरेको बाङ्ग्लादेशले त्यसबारे चिन्ता प्रकट गरेपछि भारत सरकारले निर्यातलाई अनुमति दिन सकिने स्पष्टीकरण दिएको थियो । विदेश मन्त्रालयका एक अधिकारीले ’विश्वको ठूलो खोप उत्पादकको रूपमा भारत छिमेकी र बाँकी विश्वप्रतिको प्रतिबद्धतामा पूर्ण सचेत रहेको’ बताएका थिए । अहिले एसआईआईले साउदी अरब, म्यान्मार र मोरक्कोसँग पनि सम्झौता गरेको छ तर त्यसको परिमाण र उपलब्ध गराइने समयबारे स्पष्ट छैन । नेपाल, ब्रजिल र श्रीलङ्काले पनि भारतमा निर्मित खोप आफ्नो निम्ति सुरक्षित राख्न चाहेको बताइएको छ । तर एसआईआईको प्राथमिकता अझै पनि घरेलु माग रहेको उल्लेख गर्दै पूनावालाले भने, ‘भारतको प्रारम्भिक माग पूरा गरेलगत्तै हामीले छिट्टै अन्य देशहरूमा निर्यात थाल्नेछौँ।’

रीयालिटी चेक टीम
बीबीसी न्यूज