फा अर्थात् स्तर

डा. गोविन्दशरण उपाध्याय ।

राजर्षी मनुले जस्तो देश र जुन परिवेशमा मान्छेको जन्म हुन्छ, त्यसले त्यसै प्रकारको जीवनशैली अनुकरण गरोस्” भन्दै हरेक देश र त्यहाँका निवासीहरूको स्वतन्त्रतालाई प्राकृतिक रूपमा स्वीकार गरेका छन् । देश, काल र परिस्थितिअनुसार चीनिया चिन्तनका आफ्नै विशेषता छन् । “फा” अर्थात् स्तरको चिन्तनलाई वैदिकहरूको वर्णाश्रमसँग तुलना गर्न सकिन्छ तर चिनिया “स्तर”मा छुवाछुत छैन ।

हरेक व्यक्तिमा आत्मदोहन गर्ने प्राकृतिक क्षमता हुन्छ । समूचित प्रकारले आत्मदोहन गर्ने क्षमता प्राप्त गरेको व्यक्तिले स्वविकास र सामाजिक, साँस्कृतिक राजनैतिक “फा”को उच्चतह प्राप्त गर्छ र वुयेयी अर्थात् (निष्काम कर्म) सामाजिक सेवामा पूर्णसलग्न भएर पनि असंलग्न भएर कर्म गर्छ । “सय ज्ञानका पाठशाला” प्राचीन चीनियाँ विद्वान वा गुरुकुलहरूको यस्तो समूह थियो जसले तत्कालीन राजाहरुलाई आत्मदोहन, आत्मबोध र सामन्जस्यको शिक्षण दिन्थ्यो । सम्राट र जनसाधारणहरूले यस्ता विद्वानहरुलाई निकै कदर गर्थे । प्राचीन चिनियाँ राज्यका उच्चतहमा गुरुकुलबाट शिक्षितहरु नियुक्त गरिन्थे ।

प्राचीन भारतवर्षमा पनि राजारजौटाहरूले धर्मपूर्वक न्याय गर्न सकियोस् भन्ने उद्देश्यले न्यायव्यबस्था र राजकीय सभामा विद्वानहरुलाई नियुक्त गर्थे । सम्राटहरुले त झन् उच्चआत्मवोध भएका ऋषिहरूलाई आफ्नो मूल पुरोहितमा नियुक्त गरेर धार्मिक, राजनैतिक, सामाजिक तथा नैतिक सल्लाह प्राप्त गर्थे । यो संयोग नै भन्नुपर्छ भारतवर्षमा ऋषिहरुको जुन उच्चस्तरीय सम्मान थियो त्यसै प्रकारको व्यबस्था चिनियाँ समाजमा पनि थियो कि भनेर तुलना गर्न सकिन्छ ।

“फा”को चेतनामा व्यक्तिको व्यक्तिगत क्षमताअनुसारको कर्म विभाजन हो । मान्छेले गर्ने कामको दक्षता नै उसको “फा” हो । कुन मान्छेले के काम गर्छ त्यो स्तरीय अर्थात् “भनेजस्तै” छ भने उसको आत्मदोहन, आत्मवोध स्तरीय छ । उसको कामले निज व्यक्ति र निजव्यक्तिको समाजलाई अधिकतम लाभान्वित गर्छ । चीनियाँ चिन्तनको मूल उत्स नै “वर्तमान जीवन शुभ” हुनु भएकोले स्वार्थ र परार्थमय जीवन नै “स्तर” हो । आत्मदोहन, आत्मबोध, वुयेयी र सामन्जस्यपूर्ण जीवनको अभिप्रप्ति नै सर्वोत्तम स्तर हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया