शुक्रबार, असार ०५, २०८३

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख नजिक,एकैदिन १२ हजार बढीको मृत्यु

गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म १४ लाख ९९ हजार २१८ जनाको मृत्यु भएको छ ।

चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना संक्रमण पछिल्लो समय विश्वमा महामारीको रुपमा फैलिदैं गएको छ । युरोपियन मुलुकहरुमा दोस्रो लहरको संक्रमण तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३०९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ३२८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख २७ हजार ९ सय भन्दाबढी संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८४ लाख २ हजार ७७३ पुगेको छ । जसमध्ये १ लाख ६ हजार ६९७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

हालसम्म कुल संक्रमितको संख्या ६ करोड ४८ लाख ३८ हजार ८९६ पुगेको छ । संक्रमितमध्ये ४ करोड ४९ लाख ३६ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

संक्रमणका कारण उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख १५ हजार ९०४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ७९ हजार ८६५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।

यस्तै एसियाली मुलुकमा २ लाख ९५ हजार १५० जनाको मृत्यु भएको छ । एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३८ हजार ६५७ जनाको मृत्यु भएको छ । हालसम्म ९५ लाख ३३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८९ लाख ७० हजारभन्दा बढी निको भएका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६४ लाख ३६ हजार ६५० पुगेको छ भने १ लाख ७४ हजार ५३१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५६ लाख ९८ हजार भन्दा बढी निको भएका छन् ।